१० असार २०८३, बुधबार

बुस्टर डोज प्रयोग गर्न नमिल्ने , चिनियाँ सिनोभ्याक खोप खेर जाने

एसीपी संवाददाता

१ मंसिर २०८०, शुक्रबार २३:४१ मा प्रकाशित

काठमाडौं, मङ्सिर १ गते । चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाखमात्रा सिनोभ्याक खोप खेर जाने भएको छ ।

सेवा विभागको व्यवस्थापन महाशाखाका अन्तर्गतको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार कोरोना भाइरसविरुद्धको ४० लाख साइनोभ्याक खोप डिसेम्बर महिनामा खेर जाने भएको हो ।

चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख खोप नेपाल भित्रिएको थियो । खोपले अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी रहेको विभिन्न अध्ययन देखाएको छ ।

उहाँले भन्नुभयो, “बुस्टर डोज प्रयोग गर्न अयोग्य भएपछि उक्त खोप प्रयोगमा आएको थिएन । सोही खोपको म्याद सकिन एक महिनामात्र बाँकी छ । डिसेम्बर महिनामा उक्त खोपको म्याद सकिँदै छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिले सिनोभ्याकको खोप बुस्टर डोजको लागि योग्य नभएकोले बुस्टरको रूपमा प्रयोग नगर्न आग्रह गरेको थियो।

बुस्टर डोजका लागि योग्य नभए पनि पहिलो र दोस्रो डोजको लागि प्रयोग गर्न डब्लुएचओको सुझाव थियो।  खोप उपलब्ध हुँदा अधिकांश नेपालीले पहिलो खोप लगाइसकेका थिए त्यसैले त्यो खोप प्रयोगमा नआएको चौरासियाको भनाइ छ ।

हाल उक्त खोप टेकुस्थित केन्द्रीय भण्डार कक्षमा रहेको आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरासियाले बताउनुभयो । व्यवस्थापन महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई खोप खेर जान लागेको विषयमा उचित व्यवस्थापनका लागि पत्राचार गरिसकेको चौरासियाले जानकारी दिनुभयो ।

अन्य खोपको आवश्यक परेका देशलाई उक्त खोप पठाउन पत्राचार गरे पनि कुनै पनि देशले खोप लैजाने रुचि नदेखाएका डा. चौरासियाको भनाइ छ । खोपको म्याद नाघेपछि खोपलाई  ‘डिस्पोजल’ (नस्ट)गरिने डा. चौरासियाले बताउनुभयो । ४० लाख सिनोभ्याक खोप बाहेक अन्य कोरोना विरुद्धको खोप भण्डार केन्द्रमा नभएको डा. चौरासिया बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रण गर्न छ करोड १७ लाख ७६ हजार ७७० डोज खोप प्राप्त गरिसकेको छ । जसमध्ये ३७ प्रतिशत  खरिद गरेको, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए।

सन् २०१९को अन्तिममा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई डब्लुएचओले सन् २०२० मार्चमा महामारीको रूपमा घोषणा गरेको थियो। केही महिनाअघि डब्लुएचओको आपत्कालीन समितिको बैठकले कोभिड–१९ लाई अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य सङ्कटकाल अन्त्य गर्ने निर्णय गरिसकेको छ ।

अब कोरोना भाइरस पनि रैथाने रोगका रूपमा परिणत भएर बेला–बेला बढ्न सक्ने विज्ञको तर्क छ । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x