भारतको अपरेशन सिन्दूरबारे जानकारी दिने महिला अधिकारी को हुन् ?
पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ। अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले कडा कारबाही गर्ने बताएका थिए।
भारतीय सेनाले आफ्नो आक्रमणलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। यसबारे जानकारी दिन बुधबार बिहान सेनाका दुई महिला अधिकारी पत्रकारसामु उपस्थित भए।
को हुन् ती अधिकारी ?
कर्नल सोफिया कुरेशी

कर्नल सोफिया कुरेशी भारतीय सेनाकी एक अधिकारी हुन्।
२०१६ मा बहुराष्ट्रिय क्षेत्र प्रशिक्षण अभ्यास भारतको पुणे शहरमा भएको थियो। एफटीएक्सको ‘फोर्स १८’ मा एसियन प्लस देशहरू समावेश थिए। यो भारतीय भूमिमा अहिलेसम्मकै सबैभन्दा ठुलो स्थल सेना अभ्यास थियो।
यसमा ४० सैनिकको भारतीय सेनाको टोलीको नेतृत्व सिग्नल कोर्प्सकी महिला अधिकारी लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशीले गरेकी थिइन्। त्यतिबेला, उनले यति ठुलो बहुराष्ट्रिय अभ्यासमा भारतीय सेनाको प्रशिक्षण टोलीको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बन्ने दुर्लभ गौरव प्राप्त गरेकी थिइन्।
रक्षा मन्त्रालयले पनि आफ्नो अघिल्लो पोस्टमा यो जानकारी दिएको थियो र सोफिला कुरेशीको तस्बिर पनि सार्वजनिक गरेको थियो।
कुरेशी गुजरातकी हुन्। उनले बायोकेमिस्ट्रीमा स्नातकोत्तर गरेकी छन्। कुरेशी एक सैन्य परिवारबाट आएकी हुन्। उनका हजुरबुबा भारतीय सेनामा थिए। उनको विवाह मेकानाइज्ड इन्फन्ट्रीका एक अधिकारीसँग भएको छ।
सोफिया कुरेशी १९९९ मा १७ वर्षको उमेरमा सर्ट सर्भिस कमिसन मार्फत भारतीय सेनामा भर्ना भइन्।
उनले ६ वर्षदेखि संयुक्त राष्ट्र शान्ति सेनामा पनि काम गरिसकेकी छन्। यसमा २००६ मा कंगोमा एक उल्लेखनीय कार्यकाल समावेश थियो।त्यतिबेला उनको मुख्य भूमिका शान्ति कार्यहरूमा प्रशिक्षण सम्बन्धित योगदान प्रदान गर्नु थियो।
व्योमिका सिंह

सेनाको अपरेशन सिन्दूरको बारेमा मिडियालाई जानकारी दिने दोस्रो अधिकारी विंग कमाण्डर व्योमिका सिंह थिइन्।
व्योमिका सिंह भारतीय वायुसेनामा हेलिकप्टर पाइलट हुन्। रिपोर्टका अनुसार उनी सधैं पाइलट बन्न चाहन्थिन्।
उनको नामको अर्थ नै ‘आकाशसँग जोड्ने’ हो र यही नामले उनको महत्वाकांक्षालाई आकार दियो।
व्योमिका सिंह राष्ट्रिय क्याडेट कोर अर्थात् एनसीसीमा थिइन् र इन्जिनियरिङ गरेकी छन्। उनले २०१९ मा भारतीय वायुसेनाको उडान शाखामा पाइलटको रूपमा स्थायी आयोग प्राप्त गरे।
व्योमिका सिंहले २५०० घण्टाभन्दा बढी उडान भरेकी छन्। उनले जम्मू कश्मीर र उत्तर–पूर्वी भारतमा कठिन परिस्थितिमा चेतक र चिता जस्ता हेलिकप्टर उडाएकी छन्।
उनले धेरै उद्धार कार्यहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी छन्। यीमध्ये एउटा अपरेशन नोभेम्बर २०२० मा अरुणाचल प्रदेशमा भएको थियो। अन्नपूर्णपोस्ट बाट



