भारत सरकारले नेपाललाई रु ३८ करोडभन्दा बढीको स्टिल पुल सहयोग स्वरुप उपलब्ध
भारत सरकारले नेपाल सरकारलाई १० प्रिफेब्रिकेटेड स्टिल ब्रिज पार्ट्सको पहिलो खेप हस्तान्तरण गरेको छ । हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक सञ्जाल पुनःस्थापनाका लागि नेपाल सरकारले अनुरोध गरे बमोजिम यी पुलहरू प्रयोग गरिने नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
३८ करोडभन्दा बढीको लागतमा निर्माण भएका यी पुललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । पूर्वनिर्मित स्टिल पुलको बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराउने दूतावासले जनाएको छ ।
बुधबार भारत सरकारका तर्फबाट दोस्रो सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लामखुट्टे निवारक, लाइफ ज्याकेट, सुत्ने चटाई, खाद्यवस्तु हस्तान्तरण गरेका हुन् । भारतबाट डुङ्गा र मोटरसहित २१ दशमलव ५ टनको मानवीय सहायता सामग्री आज नेपालगञ्ज ल्याइयो । राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।



