३ मंसिर २०८३, बुधबार

नेपाली कांग्रेस बाँकेको १५औँ अधिवेशन सम्पन्न, प्रमोद बहादुर श्रेष्ठको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित उपसभापतिमा चौधरी र सुनार, सचिवमा रौनियार र चलाउने तथा सह–सचिवमा अंसारी र खत्री चयन

एसीपी संवाददाता

३ मंसिर २०८३, बुधबार २२:४१ मा प्रकाशित

नेपालगन्ज ,मसिर २ गते — नेपाली कांग्रेस बाँकेको १५औँ नियमित जिल्ला अधिवेशनबाट प्रमोद बहादुर श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। अधिवेशनले सभापति श्रेष्ठ सहित महत्वपूर्ण पदाधिकारीहरूलाई निर्विरोध निर्वाचित गरेको हो।

अधिवेशनबाट उपसभापति पदमा सचिन्द्र कुमार चौधरी र धर्मराज सुनार निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, सचिवमा ललित कुमार रौनियार र निम बहादुर चलाउने तथा सह–सचिवमा कमाल अंसारी र गोविन्द खत्री निर्विरोध चयन हुनुभएको छ।

नवनिर्वाचित सचिवद्वय ललित कुमार रौनियार र निम बहादुर चलाउनेले आफूहरूलाई जिल्ला सचिव जस्तो महत्वपूर्ण र गरिमामय जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि तथा सम्पूर्ण सहकर्मी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँहरूले नवनिर्वाचित सभापति प्रमोद बहादुर श्रेष्ठ सहित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै बाँके कांग्रेसलाई थप सशक्त, गतिशील र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाँहरूको भनाइ छ, “पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी पूर्वक निर्वाह गर्दै संगठनलाई बलियो, व्यवस्थित र एकताबद्ध बनाउन हामी प्रतिबद्ध छौँ। सबै नेता तथा कार्यकर्तालाई साथमा लिएर पार्टीको संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भएर लाग्नेछौँ।”

अधिवेशन तयारी समितिका जिल्ला संयोजक कृष्ण बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, पूर्व मन्त्री गजेन्द्र हमाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राज कुमार हमाल तथा नेपालगन्ज नगर कार्यसमितिका सभापति नकुल खत्रीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला तथा क्षेत्रीय तहका नेता, पार्टीका प्रतिनिधि र नवनिर्वाचित पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै नेपाली कांग्रेस बाँकेमा संगठनलाई थप मजबुत बनाउने, पार्टीभित्र एकता कायम गर्ने र आगामी राजनीतिक चुनौतीको सामना गर्न सामूहिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x