मन्त्री रामकुमारी झाँक्रीको अर्को काण्ड बाहिरियो, माधव नेपालकोसमेत मिलेमतो
०४ गते पौष २०७८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको विकास निर्माणको काममा अवरोध पुर्याएको खुलेको छ । सहरी विकास मन्त्री हुँदा प्रभु साहले रौतहटमा थुप्रै योजना कार्यान्वयनमा ल्याएर साह जिल्लामा लोकप्रिय हुँदै गइरहेका बेला अतालिएर माधव नेपालले अवरोध पुर्याएको खुलेको हो ।
नेता नेपालले आफ्नी पार्टीकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई निर्देशन दिएर रौतहटमा प्रभु साहले अघि सारेका योजना रोक्न लगाएका छन् । त्यसो त झाँक्रीले मन्त्रालयलाई पार्टी कार्यालयजस्तो बनाएकी छन् । जहाँ बसेर उनले योजना फाल्दै संगठन विस्तार गरिरहेकी छन् ।
आफूले अघि बढाएका योजना रोकेपछि प्रभु साहले सचिवालयमार्फत आपत्ति जनाएका छन् । उनले विकास निर्माणको काम रोक्ने मन्त्री झाँक्रीको राजीनामा मागेका छन् ।
साहको सचिवालयका सदस्य निवेश यादवले विज्ञप्ति जारी गरेर माधव नेपालको निर्देशनमा शहरी बिकास मन्त्रालयबाट रौतहटमा विनियोजित योजना र बजेटको कार्यान्वयनमा रोक लगाएको उल्लेख गरेका छन् । आर्थिक वर्षको पुस मसान्तसम्म पनि शहरीका महत्वपूर्ण योजनाहरुको ठेक्का न निकाल्नु र निस्केको ठेक्काको निर्माण कार्य समेतमा रोक लगाउनु दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ । ‘माधव नेपालको विकास विरोधी हर्कत एवं मधेश विरोधी पूर्वाग्रही चिन्तनले आज रौतहटको जनता फेरि निराश भएको छ । आफूलाई सक्षम महिला नेतृ देखाउने शहरी मन्त्री रामकुमारी झांक्रीले समेत माधव नेपालको मतियार भई बिकास विरोधी हर्कत गर्नु अशोभनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
‘तसर्थ, सिरानीमुनि विकास बजेटको फाईल राखी कुम्भकर्ण निन्द्रामा सुतिरहेकी हाम्रा महारानी मा. मन्त्री झांक्रीज्यूको राजीनामासहित आफ्नै जन्मधर्ती रौतहटलगायत तराई – मधेशको विकासका मुख्य अवरोधक (बाधक) माकुने मुर्दाबादको नारा जोडदार रुपमा उद्घोष गर्दछौं,’ यादवले भनेका छन् ।


