माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ अमेरिकी सहायता एमसीसी सम्झौता संसदबाट पारित गर्न तयार
१२ गते पौष २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्न तयार भएका छन् ।
यसअघि विरोधमा रहेका दाहालले आइतबार आफ्नो पार्टीको महाधिवेशनमा एमसीसीलाई सबै दलको सहमतिमा अघि बढाउने बताए । माओवादी एमसीसीको विरोधी नभएको उनको भनाइ थियो ।
प्रचण्ड एमसीसी पारित गराउन सहमत भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि माओवादी महाधिवेशनमै सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने घोषणा गरे । पाँच दलको गठबन्धन कोही विरुद्ध नभएको बताउँदै देउवाले गठबन्धन पूरा समयसम्म चल्ने बताए ।
एमसीसीमा देउवा र प्रचण्ड सहमति भएपछि आइतबार महाधिवेशनमा दुबै नेताले एकअर्काको प्रशंसा समेत गरेका थिए । देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुलाई जवाफ समेत दिएका थिए ।
उता प्रचण्डले पनि एमसीसीमा प्रधानमन्त्रीको धारणाको समर्थन गर्दै अगाडि बढाउने बताएका थिए । दुबै नेताको बोलीले अब एमसीसी अघि बढ्ने निश्चित भएको छ ।


