शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण
शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण गराईएको छ । सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जमा आवद्ध कानून ब्यवशायी र अधिकारकर्मीले शीतलहर तथा अत्यधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागी आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको हो । यसै गरि समुहले जिल्ला प्रशासन कार्यालय अन्तर्गत सञ्चालन हुने अर्धन्यायिक इजलासको व्यवस्थापनलगायत फौजदारी न्यायका मान्य सिद्धान्तको पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको हो ।
समूहले बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै दुई महत्वपूर्ण विषयमा शीघ्र र प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ । शीतलहर र जाडोबाट प्रभावित गरिब, असहाय, वृद्ध, बालबालिका, श्रमजीवी वर्ग तथा खुला स्थानमा बसोबास गर्ने नागरिकको जीवन र स्वास्थ्य जोखिममा परेको उल्लेख गर्दै न्यानो कपडा, कम्बल, सुरक्षित ताप व्यवस्था, तातो पानी तथा आवश्यक स्वास्थ्य सहजीकरणको तत्काल व्यवस्था गर्न माग गरिएको छ,समुहद्धारा माग गरिएको छ । साथै कारागार, बालसुधार गृह र हिरासत कक्षमा रहेका कैदीबन्दी तथा थुनुवाका लागि समेत न्यूनतम मानवीय आवश्यकता सुनिश्चित गर्न विशेष व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी, अर्धन्यायिक इजलासको भौतिक व्यवस्थापन, कानून व्यवसायीको पेशागत पहुँच र फौजदारी न्यायका मान्य सिद्धान्त—निष्पक्ष सुनुवाइ, प्राकृतिक न्याय, मानव मर्यादा तथा कानूनी प्रतिनिधित्वको अधिकार—को पूर्ण पालना व्यवहारमा सुनिश्चित गर्न आवश्यक सुधारका लागि पनि समूहले ध्यानाकर्षण गराएको छ । इजलासको मर्यादित र उपयुक्त व्यवस्थापन, कानून व्यवसायीका लागि बहस गर्न अनुकूल वातावरण, कज–लिस्टको समयमै र सार्वजनिक उपलब्धता तथा थुनुवा र सेवाग्राहीसँग कानूनी परामर्शका लागि सहज पहुँच सुनिश्चित गर्नुपर्ने जिोड दिईएको छ ।


