सभापति देउवाले नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै कांग्रेसको मिसन सुनाए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नयाँ कार्यसमितिले शनिबार निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशनमा चुनाव जितेका सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको आधिकारिक प्रमाणपत्र दिएको हो । प्रमाणपत्र ग्रहण गरिसकेपछि सभापति देउवाले नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै कांग्रेसको मिसन सुनाए ।
उनको मिसन अब आइरहेका तिनवटै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने र कम्युनिस्टको पत्ता साफ गर्ने भन्ने थियो । उनले पार्टीमा अब मिलेर जाने, आफूले सबैको साथ लिएर एकजुट भएर जाने प्रतिबद्धता जनाउँदै कांग्रेस नयाँ कार्यसमितिको अर्जुनदृष्टि तिनवटै तहको निर्वाचन भएको सुनाए ।
‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने । उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।
‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’
सभापति देउवाले सबैलाई मिलाएर लाने दृढ प्रतिबद्धता र चुनावमा पहिलो पार्टी बन्ने उदघोषपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ताली बजाएर स्वागत गरेका थिए । देउवाको सम्बोधनपछि अहिले केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।


