सरकारको आँखा बल्ल खुल्यो ! वरिष्ठ पत्रकार चुके
सरकारको आँखा बल्ल खुल्यो ! छाडा टिकटकेहरुमा छट्पटी हुन थाल्यो !!
पुर्ण लाल चुके वरिष्ठ पत्रकार नेपालगन्ज = सोमवार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ । नीतिगत रूपमा सरकारले टिकटक आजैदेखि बन्द गर्ने निर्णय गरे पनि प्राविधिक रूपमा कति समय लाग्छ त्यसको एकिन भने गरिएको छैन । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट व्यक्तिको स्वतन्त्रताको नाममा लगातार रूपमा सामाजिक सद्भाव नै बिथोलिने गरेर पारिवारिक संरचना र सम्बन्ध नै बिगार्ने, सामाजिक सम्बन्ध धार्मिक सद्भाव समेत खलबल गर्ने प्रवृत्ति एकदमै बढेको छ ।
आफुलाई रिस उठेको मान्छे विरुद्ध विष वमन गर्ने, अनेकानेक झुठ्ठो लान्छना लगाउने, चरित्र हत्या गर्ने, पारिवारिक सम्बन्ध नै बिगार्ने, व्यक्तिगत दुस्मनी साँध्ने, आक्रोस पोख्ने, उचाल्ने पछार्ने माध्यमको रुपमा लगातार प्रयोग गर्ने अमर्यादित प्रवृत्ति चरम सीमामा पुगेको थियो । यहाँसम्म कि ज्यूँदो मान्छेलाई मर्यो भनेर श्रद्धान्जलि अर्पण गर्ने अपराधिक चरित्र पनि टिकटकमा देखियो । कतिपय छाडा टिकटकेहरुले सरकारको यो कदमको आलोचना गरे तापनि छिमेकी देश भारत लगायत थुप्रै लोकतान्त्रिक देशहरुमा पनि टिकटक माथि प्रतिबन्ध लगाइएको छ र नेपाल सरकारले ढिलै भए पनि यस्तो निर्णय गरेर सामाजिक सञ्जाल मार्फत् व्याप्त छाडा प्रवृत्ति माथि अँकुश लगाउने काम गरेको छ । तर, सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर मात्र हुँदैन सिघ्र कार्यान्वयन गर्नु पर्दछ । यसरी नै फेसबूकमा पोष्ट गरिने सामाग्रीहरु माथि पनि साइवर व्यूरोले कडा रुपमा निगरानी गर्नु आवश्यक छ ।


