७ कार्तिक २०८१, बुधबार

अस्पतालद्धारा समाचार संकलनमा रोक, महासंघसहितका संगठनहरु उत्रिए विरोधमा

एसीपी संवाददाता

३ चैत्र २०८०, शनिबार ०९:४६ मा प्रकाशित

नेपालगन्जः भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै भेरी अस्पतालले यस्ता प्रकृतिका कार्य गर्नु गराउनु परेमा कार्यालयका सूचना अधिकारीसँग समन्वय गरेर मात्र कार्य गर्न अनुरोध गरेको छ । भेरी अस्पतालले प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको बाँकेका पत्रकारहरुले बताएका छन् । उनीहरुले सामाजिक सञ्जालमा यसको विरोध जनाएका छन् । साथै नेपाल पत्रकार महासंघ बाँकेले जी नेपाल टेलिभिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पतालमा भएको दुर्व्यवहार र समाचार संकलनमा अवरोध एवम् अंकुश लगाउने नियतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार आचारसंहिताको पालना गर्दै अस्पतालभित्र तोकिएका संवेदनशिल क्षेत्रको संवेदनशिलतालाई पत्रकारले सदैव ख्याल गर्दै आएका छन् तर ‘संवेदनशिल क्षेत्र’ का नाममा हरेक नागरिकको प्रत्यक्ष पहुँच हुने सार्वजनिक परिसरभित्र नै समाचार संकलनमा अंकुश लगाएर नागरिकको सु–सुचित हुन पाउने अधिकार कुण्ठित गर्न खोजिएको महासंघको ठहर छ ।

‘जनसरोकारसंग सम्बन्धित विषयमा सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो सुरक्षागार्ड लगाएर अस्पताल प्रशासनबाट समाचार संकलनमा अंकुश र बाधा उत्पन्न गर्ने जस्तो कार्य आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ बाँके शाखा सचिव कमल डाँगीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गर्दै पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने माथि कारवाही र अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचना खारेज गर्न माग गर्दछ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोयाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

साथै महासंघले पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गरेको छ । यसैबीच नेपाल प्रेस युनियन बाँके शाखाले पनि विज्ञप्ती निकालेर पत्रकार गुप्तामाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रिपोर्टिङको लागि विहीबार दिउँसो २ः४२ बजे अस्पताल पुगेका पत्रकार गुप्ताले अस्पतालको फुटेजहरु खिच्ने क्रममा सुरक्षागार्डद्वारा क्यामेरा खोस्ने प्रयास गरिएको बताउनुभएको छ ।  आफूले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति वेगर फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताउनुभएको छ ।

युनियनका सचिव भीष्म लोधद्वारा जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ । यस्तै अवधि पत्रकार संघले पनि घटनाको निन्दा गरेको छ । संघका बाँके अध्यक्ष प्रलाह्द विश्वकर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन संघ अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदछ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x