संयुक्त राष्ट्र संघमा मुस्लिम महिला सम्बन्धी प्रतिवेदन समावेशको तयारी बैठक सम्पन्न
नेपालगंज, १३ कार्तिक मंगलबार – नेपालका मुस्लिम महिलाहरूको अवस्थाबारे अन्तरप्रदेशीय छलफल गोष्ठी सम्पन्न भएको छ। महिला विरुद्धको भेदभाव अन्त्य गर्ने महासन्धी ‘सिड’ (CEDAW) अनुसार मुस्लिम महिलाहरूको अवस्था बारे संयुक्त राष्ट्र संघलाई प्रतिवेदन प्रस्तुत गर्न तयार पारिएको यस कार्यक्रममा मुस्लिम महिला कल्याण समाज – काठमाडौंको आयोजना तथा वुमन्स फन्ड एसियाको आर्थिक सहयोग रहेको थियो।
यस कार्यक्रममा सुदूरपश्चिम, कर्णाली, कोशी, बागमती र लुम्बिनी लगायतका छ वटा प्रदेशका महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री र लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण के.सी. (नमुना)ले मुस्लिम महिलाहरूको सशक्तीकरणको आवश्यकता र उनीहरूको नेतृत्व विकासबारे चर्चा गरिन्। उनले मुस्लिम महिलाहरूको नेतृत्व क्षमतामा आएको विकासप्रति आफ्नो अनुभव पनि व्यक्त गरिन्। आयोजक संस्थाकी अध्यक्ष सीमा खानले मुस्लिम महिलाहरू अब कसैको प्रयोग नभई आफ्नै अधिकारको लागि संघर्ष र नेतृत्व गर्न तयार भएको बताइन्।
नेपालले सन् १९९१ मा CEDAW मा हस्ताक्षर गरेको भए पनि यसअघिका प्रतिवेदनहरूमा मुस्लिम महिलाहरूको विशेष अवस्थाबारे उल्लेख नगरिएको अध्यक्ष खानले बताइन्। यस छलफलबाट तयार हुने प्रतिवेदनले मुस्लिम महिलामाथि हुने सबै प्रकारका भेदभावबारे स्पष्ट जानकारी उपलब्ध गराउने र सुधारको दिशा तय गर्न मद्दत गर्ने बताइएको छ।
मानव अधिकारकर्मी रबिन्द्र कर्ण र साजिदा सिद्दीकीले सहजीकरण गरेको उक्त कार्यक्रममा सिडको धारा ६ देखि १६ सम्म छलफल गरियो। विभिन्न क्षेत्रका अधिकारकर्मीहरूको सहभागीता रहेको यो कार्यक्रमले प्रतिवेदन तयारीमा मुस्लिम महिलाहरूको वास्तविक अवस्था समेट्न सहयोग पुर्याउने र भविष्यमा विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न प्रेरणा दिने अपेक्षा गरिएको छ।




