नेपालका पर्यटनमन्त्री बद्री पाण्डेलाई ‘टुरिज्म मिनिस्टर अफ द ईयर’ अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्मान
नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे ‘टुरिज्म मिनिस्टर अफ द ईयर’ अवार्डबाट सम्मानित भएका छन्।
जर्मनीको बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिज्म एण्ड एभिएसन समिट-२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रका उत्कृष्ट पर्यटनमन्त्रीको रूपमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले अवार्ड प्रदान गरेको हो।
सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा यो प्रतिष्ठित अवार्ड पर्यटन क्षेत्रको विशेष योगदान दिएका मुलुकका मन्त्रीहरूलाई दिइँदै आएको छ। मन्त्री पाण्डेले नेतृत्वदायी भूमिकामा रहेर नेपालको पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
नेपालको पर्यटनका लागि गौरवको क्षण
अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यसलाई आफ्नो व्यक्तिगत सम्मानभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनले भने, “यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वमञ्चमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सबै सरोकारवालाहरूको सम्मान हो।”
उनले नेपाललाई ‘नवप्रवर्तन, सामुदायिक सहभागिता र दिगो पर्यटन’ को अवधारणामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले प्रविधिको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा पुर्याएको योगदानबारे पनि चर्चा गरे।
पर्यटनको दीगो प्रवर्द्धनमा सरकारको ध्यान
मन्त्री पाण्डेले पर्यटनलाई समुदायमैत्री बनाउने, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रवर्द्धन गर्ने र हरित पूर्वाधारमा लगानी बढाउने योजनाबारे पनि जानकारी दिए।
उनका अनुसार, नेपालको नीति उत्तरदायी ट्रेकिङ, प्रमुख पर्यटकीय क्षेत्रमा फोहर व्यवस्थापन, तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित रहनेछ। साथै, कम चिनिएका पर्यटन गन्तव्यहरूलाई प्रवर्द्धन गर्दै पर्यटनबाट हुने लाभ समान रूपमा वितरण गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।
यसअघि मन्त्री पाण्डे आईटीबी मिनिस्टर्स समिट-२०२५ मा पनि सहभागी भएका थिए, जहाँ उनले ‘लगानी वृद्धि, शान्ति सुनिश्चितता र पर्यटनको दिगो विकास’ विषयमा नेपालको रणनीति प्रस्तुत गरेका थिए।
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको यो अवार्ड देशका लागि एक ठूलो उपलब्धि भएको पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन्।



