जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
संरक्षक चौधरीका अनुसार दुई पार्टीबीचको एकताका लागि ९ बुँदे सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ। ‘जनमत पार्टीसँग ९ बुँदे सम्झौताको ड्राफ्ट टुङ्ग्याइसकेका छौँ। त्यसमा हामीले केही गुमाएका छैनौँ। नागरिक गुमाएका छैनौँ, चुनाव चिह्न ढकिया गुमाएका छैनौँ, पदीय मानमर्दन गुमाएका छैनौँ, कसैको पनि पदीय मानमर्दन गरेका छैनौँ। वरिष्ठ उपाध्यक्ष, केन्द्रीय समिति सदस्यमा पनि बराबरी हिस्सा राखेका छौँ,’ संरक्षक चौधरीले भने।
उनले यति मात्रै भनेनन्। पार्टी एकताको अन्तिम चरणमा पुगिसकेको भन्दै अब पछाडि नफर्किने पनि बताए। ‘अब हामी पार्टी एकीकरणको तहसम्म पुगिसक्यौँ। हामीले २०६४ मा हातेमालो नगरेर पहिचान गुमाएको हो। अब पनि यसो गरेनौँ भने अझ धेरै पछाडि जान्छौँ। नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकता गर्ने निर्णय नै त गरेको छैन। तर, म संरक्षक रेशम चौधरीले धेरै अगाडि पैताला बढाइसकेको छु,’ उनले भने।
जनमतका प्रवक्ता शरतसिंह यादव पनि नागरिक उन्मुक्तिसँग चाँडै एकता हुने बताउँछन्। पार्टी नेतृत्व, चुनाव चिह्नलगायतका विषयमा समस्या नै नरहेको उल्लेख गर्दै उनले भने, ‘धेरै विषयहरू टुङ्गिइसकेका छन्। हामीले त नागरिक उन्मुक्तिसँग एकता गर्ने भनेर निर्णय नै गराइसकेका छौँ,’ उनले भने, ‘चाँडै पार्टी एकता हुन्छ।’
प्रवक्ता यादवले पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत भर्खर नेपाल फर्किएको उल्लेख गर्दै अब त्यस विषयले पूर्णता पाउने बताए। ‘टुङ्गिन बाँकी कुराहरू अब टुङ्ग्याउँछौँ र एकताको प्रक्रिया थाल्छौँ,’ उनले भने।
ड्राफ्ट भइसकेको ९ बुँदामा के छ भन्नेबारे भने चौधरी र यादव दुबैले टुङ्ग्याएर मात्रै सार्वजनिक गर्ने बताए।



