भारत सरकारका कृषि मन्त्री चौहान सहित भारतीय राजदूत राजदुतको टिमले गरे चन्द्रागिरि हिल्सको भ्रमण
काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरे ।
भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । मन्त्री चौहानसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना गरे । उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरे ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानको भ्रमणले नेपालको समग्र पर्यटन सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । नेपालप्रेस


