२१ श्रावण २०८३, बिहीबार

आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग हो

एसीपी संवाददाता

१२ बैशाख २०८२, शुक्रबार १८:०६ मा प्रकाशित

आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको स्पष्ट 

काठमाडौँ । राष्ट्रिय एकता अभियान – नेपालले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गरेको छ। विज्ञप्ति जारी गर्दै अभियानले उक्त हमलामा एक नेपाली नागरिकसहित विदेशी पर्यटक र निर्दोष भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा यो हमलालाई केवल भारतको भूमिमाथिको आक्रमण नभई सम्पूर्ण मानव सभ्यतामाथिको क्रुर प्रहारको संज्ञा दिइएको छ ।

विज्ञप्तिमा पाकिस्तानस्थित कुख्यात आतंकी संगठन लश्कर-ए-तैयबाले पाकिस्तानी गुप्तचर संस्था आईएसआईको संरक्षणमा यो हमला गरेको प्रमाणित भएको दाबी गरिएको छ। लश्कर-ए-तैयबा लामो समयदेखि भारतसहित सम्पूर्ण दक्षिण एसियाको शान्तिमा खलल पुर्याउँदै आएको अभियानको ठहर छ ।

विज्ञप्तिमा भारतमा भएका २००८ को मुम्बई हमला, पुलवामा आक्रमण लगायत दर्जनौँ आतंकी घटनाहरूमा लश्कर-ए-तैयबाको संलग्नता विश्वभरका सुरक्षा निकायहरूले प्रमाणित गरिसकेको उल्लेख छ ।

नेपाल पनि यस सञ्जालबाट अछुतो नरहेको र विगतमा काठमाडौँस्थित पाकिस्तानी दूतावासबाट आतंकी गतिविधिलाई कूटनीतिक आवरणमा संरक्षण दिइएको तथ्य सार्वजनिक भइसकेको अभियानले स्मरण गराएको छ ।

सन् १९९९ मा काठमाडौँबाट हाइज्याक गरिएको आईसी-८१४  विमान र त्यसपछिका घटनाक्रमहरू, जसमा मौलाना मसूद अजहर जस्ता आतंकीलाई भारतले रिहा गर्नुपरेको थियो । नेपालका लागि चेतावनी स्वरूप रहेको अभियानले जनाएको छ । यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतबीचको खुला सीमा आतंकवादका लागि सुलभ मार्ग बन्न नदिन सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा अभियानले जोड दिएको छ । इस्लामिक आतंकवाद केवल भारत वा नेपालको मात्र समस्या नभई यो सम्पूर्ण दक्षिण एसिया, एसिया र विश्वको साझा चुनौती भएको अभियानको ठहर छ ।

अमेरिका, श्रीलंकासँगै दर्जनौँ युरोपेली देशहरूले इस्लामिक आतंकको आक्रमण झेलेको तथ्य पनि विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय एकता अभियानले आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको स्पष्ट पारेको छ। लश्कर-ए-तैयबा जस्ता संगठनलाई अन्तर्राष्ट्रिय आतंक संगठनको रूपमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने माग अभियानले गरेको छ ।

साथै नेपाल सरकारले आतङ्कविरोधी कानुनी तथा सुरक्षात्मक संरचना थप मजबुत बनाउनुपर्ने र भारत सरकारद्वारा चालिने कडा आतङ्कविरोधी कदमहरूमा पूर्ण समर्थन रहने अभियानले जनाएको छ।

राष्ट्रिय एकता अभियान – नेपालले भारत सरकारप्रति ऐक्यबद्धता प्रकट गर्दै अन्तर्राष्ट्रिय समुदाय, विशेषतः संयुक्त राष्ट्र संघलाई इस्लामिक आतंकवादको विरुद्ध ठोस र निर्णायक कदम चाल्न आह्वान गरेको छ ।

अब मानवताले जित्नुपर्ने र आतंकले हार्नुपर्ने निर्णायक लडाइँको समय आएको विज्ञप्तिमा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x