११ असार २०८३, बिहीबार

नेपालमा नयाँ कोरोना भेरियन्ट नफैलिएको स्पष्टीकरण

एसीपी संवाददाता

१६ जेष्ठ २०८२, बिहीबार ११:५१ मा प्रकाशित

नेपालगन्जः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले नेपालमा नयाँ कोरोना भेरियन्ट नफैलिएको स्पष्टीकरण दिएको छ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा कोरोना संक्रमण बढेको भन्दै चर्चामा आएको विषयलाई लिएर इडिसिडीले स्पष्टीकरण दिएको हो । इडिसिडीका निर्देशक डा चन्द्र भाल झाले सामाजिक सञ्जालमा चर्चा आएको कोरोना संक्रमित ७ जना एकै दिन पुष्टि नभएर झण्डै दुई महिनादेखिको केश भएको बताए ।

‘केही सञ्चारमाध्यमले अतिरञ्जित गर्दैै नयाँ भेरियन्टको कोराना फैलिएको हल्ला चल्यो । तर त्यो झुटो हो,’ डा झाले भने, ‘नियमित रुपमा परीक्षण गर्दा दुई महिनादेखिको पुष्टि भएको केश हो ।’

केही विशेष रोगहरू देखिनासाथ इडिसिडीको सिस्टममा रिपोर्टिङ हुने व्यवस्था त्यही क्रममा रिपोर्टिङ भएका भएका दुई महिनादेखिका केश भएको डा झाले बताए । डा झाले दुई महिनायता कोराना पुष्टि भएका केसमध्ये ६ वटा धुलिखेल अस्पतालको प्रयोगशालामा र एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रमाणीकरण भएको जानकारी दिए ।

धुलिखेल अस्पताल, मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा राजीव श्रेष्ठले भर्ना भएका बिरामीको नियमित परीक्षण गर्दा केही केश पुष्टि भएको बताए । तर, उक्त संख्या भने दुई महिना अगाडि भएको डा श्रेष्ठले बताए ।

‘यो भारतमा फैलिएको भनिएको नयाँ भेरियन्ट होइन । अहिले नियमित रुपमा देखिएको गत वर्ष नै देखिएको ओमिक्रोनको सबभेरियन्ट जे।वान हो,’ डा श्रेष्ठले भने, ‘कोराना अब सधैं फ्लु जस्तै भएर बस्छ । धेरै आतिनुपर्ने अवस्था छैन ।’ उनका अनुसार ती जना बिरामी पूर्णरूपमा निको भइसकेको छन् ।

डा झाले संक्रमित देखिएका कुनै पनि व्यक्ति लामो समयदेखि बाहिर नगएको हुँदा ती बाहिरबाट आएको नयाँ भेरियन्टको संक्रमण नभएको दाबी गरे । दक्षिणी छिमेकी मुलुक भारत र अमेरिकामा समेत कोरोनाका केस बढिरहेको बेला नेपालमा अतिरञ्जित खबर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिइरहेको देखिएको छ ।

जनस्वास्थ्यविदहरू भने कोरोना महामारीकै रूपमा देखा नपरे पनि समाजमा सामान्य रूपमा घुमिरहने बताउँछन् । विगत पाँच वर्षमा नेपालमा कोरोनाका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना रहिरहेको डा श्रेष्ठ बताउँछन् ।

‘कोरोना रुघाखोकी, हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ,’ धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा श्रेष्ठ भन्छन्, ‘नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनुपर्छ ।’

महाशाखाका निर्देशक डा झाले निगरानी प्रणालीलाई एकदमै बलियो बनाएको दाबी गरे । ‘हालसम्म नेपालमा नयाँ भेरियन्टको केश पुष्टि भइसकेको छैन । यद्यपि हामीले सतर्कता भने अपनाएका छौं,’ उनले भने ‘सीमा प्रवेश नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई पनि बढी प्रभावकारी बनाउन निर्देशन दिएका छौं ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x