१५ भाद्र २०८३, सोमबार

स्वास्थ्य संकटको छायाँमा चीन: युवामा हृदयघातको दर डरलाग्दो

एसीपी संवाददाता

३० असार २०८२, सोमबार १७:१० मा प्रकाशित

हालका वर्षहरूमा मुख्यभूमि चीनमा एक चिन्ताजनक र भयावह चित्र देखा परेको छ—हृदयघात र स्ट्रोकका कारण युवाहरूको अकाल मृत्युदर डरलाग्दो रूपमा बढिरहेको छ। केही दशकअघिसम्म वृद्ध उमेरका मानिसहरूसँग मात्र जोडिने यी रोगहरूले अहिले २०, ३० र ४० को उमेर समूहका मानिसहरूलाई समेत निशाना बनाउन थालेका छन्।

चिकित्सकहरूका अनुसार युवामा रक्तनलीहरू सात दशक पार गरिसकेजस्तो क्षतिग्रस्त देखिनु, तीव्र मानसिक र शारीरिक थकानका लक्षणहरू देखिनु, र तिनका परिणाम स्वरूप हृदयघात र स्ट्रोकको घटना बढ्नु सामान्यजस्तै भएको छ। बेइजिङ युनिभर्सिटी अफ चाइनिज मेडिसिनका छाला रोग विशेषज्ञले हालसालै बताएझैँ, २० र ३० को उमेरका बिरामीहरूमा पनि यी जटिल समस्याहरू तीव्र रूपमा देखिन थालेका छन्।

यो केवल केही चिकित्सकको आवाज होइन। शियाङयाङ युनिभर्सिटीका आपतकालीन चिकित्सकहरूले भर्खरै एकजना नयाँ बाबु बनेका पुरुषलाई हृदयघातले गुमाउनु परेको भोगाइ सुनाए। शोकमा डुबेका परिवारहरू मात्र होइन, चिहान व्यवस्थापन गर्नेहरू समेत अहिले ८०–९० दशकमा जन्मिएका युवाहरूको मृत्युमा हृदयघात प्रमुख कारण बनेको देखिन्छ भन्ने स्वीकार्छन्।

तर यतिले मात्र समस्या सकिँदैन। चीनभर फैलिएको भाइरसको पुनःउभार—कोभिड, इन्फ्लुएन्जा, मिकोप्लाज्मा निमोनियाजस्ता संक्रमणहरू—ले झन् स्वास्थ्य संकटलाई उकासेको छ। ग्रामीण क्षेत्रमा अस्पतालहरू असक्षम छन्, र लामो कोभिडका असरहरू न त उचित रूपमा अनुगमन गरिन्छन्, न बुझिन्छन्। सरकारी सञ्चारमाध्यमहरूले भने यी सबैलाई सामान्य रुघाखोकीको रूपमा चित्रण गर्दै जनतालाई गम्भीरता नलिन हिँडाउँछन्।

वास्तविकता के हो भने—तीव्र शहरीकरण, लामो कार्यघण्टा, निद्रा अभाव, मानसिक तनाव, अस्वस्थकर खानपान, अनि प्रदूषणको चपेटामा परेका युवाहरू कम उमेरमै उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल समस्याले ग्रस्त छन्। अन्तर्राष्ट्रिय अध्ययनहरूले कोभिडपछि देखिने सूक्ष्म रक्तस्राव, मुटुमा सुजन, रक्तनलीहरूमा समस्या जस्ता कुराहरू चिनियाँ स्वास्थ्य प्रणालीले बेवास्ता गरेको स्पष्ट देखाउँछन्।

अझ गम्भीर प्रश्न के छ भने—चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को मौनता र व्यवस्थागत असफलता। जब चिकित्सकहरूले आवाज उठाउँछन्, तिनीहरूलाई सामाजिक सञ्जालबाट हटाइन्छ, आलोचक पत्रकारहरूलाई नियन्त्रण गरिन्छ, र तथ्याङ्कहरू लुकाइन्छ। यस्तो अवस्थामा जनतासँग न चेतना प्रवर्द्धन गर्ने प्रयास हुन्छ, न रोकथाम नीति तयार हुन्छ। बरु, सरकार केवल आर्थिक सुधार र विश्वसनीयता देखाउने कसरतमा व्यस्त देखिन्छ।

सबैभन्दा मारमा परेका छन् २० देखि ४० वर्षका युवा—चीनको आर्थिक इन्जिन, परिवारका धुरी, र समाजका आशा। तिनको अकाल मृत्युले न केवल परिवार र अर्थतन्त्रलाई क्षति पुर्‍याउँछ, बरु जन्मदर घटिरहेको, वृद्ध जनसंख्या बढिरहेको मुलुकको सामाजिक सन्तुलनसमेत बिगार्छ।

यस स्वास्थ्य संकटले चीनभित्रको गहिरो राजनीतिक र प्रशासनिक संकट पनि उजागर गरेको छ। नियन्त्रण र प्रचारमुखी सत्ता संस्कृतिले पारदर्शिता, वैज्ञानिक सोच र सुधारको बाटो थुनिरहेको छ। जबसम्म चीनले खुला, तथ्यमा आधारित सार्वजनिक स्वास्थ्य रणनीति अपनाउँदैन, तबसम्म यो संकटले अस्पताल, घर, र मुलुकको अन्तरात्मासम्म चोट पुर्‍याइरहनेछ।

“जनताको भलो नहेर्ने सत्ताले शक्ति राखे पनि गरिबी मात्र बढाउँछ,” भन्ने पुरानो भनाइ चीनमा आज झन अर्थपूर्ण देखिन्छ। अब समय आएको छ, चीनले आँखा चिम्लन छोडेर आफ्ना युवाहरूको जीवन रक्षा गर्ने साहस देखाओस्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x