बारबरा फाउण्डेसनको सञ्जालमा जडिएका नेताहरूको भूमिका विवादमा, जेनजी आन्दोलन र आक्रमणबीच गहिरिँदै आशंका
काठमाडौं । नेपालमा पछिल्लो समय चर्चामा रहेको बारबरा फाउण्डेसनको भूमिकाप्रति सार्वजनिक बहस चर्कँदै गएको छ। विवादित अमेरिकी संस्था बारबरा फाउण्डेसनसँग जोडिएका नेपाली राजनीतिज्ञ, सरकारी पदाधिकारी तथा सञ्चारकर्मीहरूका गतिविधिहरूले त्यसप्रति विश्वासभन्दा बढी संशय जन्माएको छ। जेनजी पुस्ताको आन्दोलन र त्यसपछिको घटनाक्रमसँग संस्थाको सम्बन्ध रहेको आरोप लागिरहेका बेला त्यसमा संलग्न देखिएका उच्च तहका व्यक्तित्वहरूमाथि पनि प्रश्न उठ्न थालेका छन्।
जेनजी आन्दोलन र आक्रमणसँग फाउण्डेसनको सम्बन्ध?
बारबरा फाउण्डेसनको नाम जोडिएका पत्रकार दिलभूषण पाठकले आन्दोलन शुरु हुनुभन्दा दुई महिना अगाडि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाको छोरासम्बन्धी लगानी रहेको भन्दै नक्सालस्थित होटल हिल्टनविरुद्ध भिडियो सामग्री प्रसारण गरेका थिए। सोही होटल जेनजी आन्दोलनको क्रममा आक्रमणमा पर्यो र पूर्ण रूपमा जलेर नष्ट भयो, जसमा पाँच अर्बभन्दा बढीको क्षति भएको बताइएको छ।
त्यसपछि केही व्यक्तिहरूले देउवा निवासमा प्रवेश गरेर आक्रमण गर्दा डा. राणा गम्भीर घाइते भएकी छन्। यस घटनासँगै पाठकको भूमिकालाई लिएर पनि आलोचना हुँदै आएको छ।
राजनीतिक नेताहरूको भूमिकामाथि प्रश्न
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (एमाले)का सचिव योगेश भट्टराई र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलाई बारबरा फाउण्डेसनको कार्यक्रममा सक्रिय रूपमा देखिएको छ। २०१७ नोभेम्बर २० मा अपलोड भएको टक सिरिज कार्यक्रममा उनीहरू सबै सहभागी भएका थिए, जहाँ छलफलको सञ्चालन स्वयं पत्रकार पाठकले गरेका थिए।
जेनजी आन्दोलनको समर्थन र त्यसपछिका राजनीतिक गतिविधिमा थापा अगाडि देखिए। सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान र विशेष महाधिवेशनको माग उठाउँदै नेतृत्व परिवर्तनको तयारीमा जुटेका थापा विगतमा बारबरा फाउण्डेसनसँग नजिक देखिएका थिए।
त्यस्तै, योगेश भट्टराईले एमालेभित्र नेतृत्व फेर्नुपर्ने संकेत गर्दै मधुरो स्वरमा बगिरहेको परिवर्तनको लहर भित्र्याउने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ। डा. स्वर्णिम वाग्ले पनि रास्वपाभित्र सभापति रवि लामिछाने र कार्यवाहक सभापति डोलप्रसाद अर्यालको विकल्प खोज्दै नेतृत्व कब्जाको तयारीमा रहेको भनिएको छ।
बारबरा फाउण्डेसनको कार्यक्रममा सहभागी भएका वा सम्बन्धित देखिएका व्यक्तिहरूमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, डा. भगवान कोइराला, केदारभक्त माथेमा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अनुराधा कोइराला, पत्रकार टीकाराम यात्री लगायतका नाम चर्चामा छन्।
त्यस्तै, पत्रकार जगदीश खरेल सञ्चारमन्त्री, कुलमान घिसिङ उर्जामन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बन्नुमा पनि फाउण्डेसनको प्रभाव देखिएको विश्लेषणहरू सार्वजनिक भएका छन्।
एकातिर, फाउण्डेसनले उदार लोकतन्त्र, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको नाममा कार्यक्रमहरू चलाउँदै आएको दाबी गर्छ, अर्कोतर्फ, जेनजी आन्दोलन र पछिल्ला राजनीतिक अस्थिरता तथा हिंसात्मक घटनासँग यसको अप्रत्यक्ष सम्बन्ध रहेको गम्भीर आशंका समेत उठेको छ।
यसैबीच, देशका प्रमुख दलभित्र नेतृत्व परिवर्तनको दबाब, देउवा निवासमा भएको आक्रमण, र सञ्चार क्षेत्रको भूमिकामाथि उठेका प्रश्नहरूलाई समेटेर हेर्दा – बारबरा फाउण्डेसनको नेपालमा प्रभाव र उद्देश्यबारे गहिरो अनुसन्धान र पारदर्शी सार्वजनिक बहस आवश्यक देखिन्छ।


