९ माघ २०८२, बिहीबार

जेन–जी विद्रोहको माग सम्बोधन गर्न संविधान पुनर्लेखन जरुरी : उपेन्द्र यादव

एसीपी संवाददाता

२० आश्विन २०८२, सोमबार २०:५० मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेन–जी पुस्ताले उठाएको मागको सम्बोधन गर्न संविधान पुनर्लेखन जरुरी भएको औँल्याएका छन्।

जसपा नेपाल सिराहाको आयोजनामा सोमबार दिउँसो लहानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण विश्वलाई नै चकित पार्ने गरी भएको विद्रोहपछि अन्तरिम सरकार बनेलगत्तै निर्वाचनको घोषणा गरिए पनि त्यो उपलब्धि नभएको जिकिर गरे। ‘त्यसका लागि संविधान पुनर्लेखन वा संशोधन जरुरी छ,’ उनले भने।

‘जनसंख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधित्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणाली, पहिचानको आधारमा प्रदेशहरूको पुनर्संरचना र न्याय प्रणालीमा पुनर्संरचना नगरी विद्रोहले उठाएको माग सम्बोधन हुन सक्दैन,’ उनले भने। विशेषतः बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि निरन्तर सत्तामा रहेका कांग्रेस, कम्युनिस्टहरूले नै मुलुकलाई यो अवस्थामा पुर्याएको दाबी गर्दै उनले अब मुलुकमा सुशासन, समृद्धि र समाजवादतर्फको यात्रा आफूहरूले नेतृत्व गर्ने उल्लेख गरे।

वैदेशिक ऋणको भारी
विगतमा स्थिर सरकारको नाममा ठुला भनिएका दलहरूले मुलुकलाई वैदेशिक ऋणको भारी मात्र बोकाएको आरोप लगाउँदै उनले करिब ७० लाख युवा जनशक्ति भविष्य खोज्दै विदेश पलायन, किसानले एक बोरा खादका लागि भौँतारिनुपर्ने, गरिब, निमुखाले राम्रो शिक्षा, उपचार सेवा र न्याय नै नपाउने अवस्था सिर्जना भएपछि युवा पुस्ताले विद्रोह गरेको उनको भनाइ थियो।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्यको मुख्य मागसहित जेन–जी पुस्ताले थालेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बर दमन गरेकाले दुई दिनमै कांग्रेस–कम्युनिस्टको गठबन्धन सरकारको पतन भएको बताए। नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x