११ भाद्र २०८३, बिहीबार

तपाईहरू ‘जेन्जी’ बिद्रोहलाई षडयन्त्रको ऐनामा टासेर ‘आतंकको राज्य’ लाई पानीपट्टी दिनुहोस् ! ऐना पखालिए पछि अनुहार देखिन्छ नै !

एसीपी संवाददाता

८ कार्तिक २०८२, शुक्रबार २१:२४ मा प्रकाशित

( पुर्ब मन्त्री जय प्रकाश गुप्ता )

जय प्रकाश आनन्द ” काठमाडौं =  खै तिथी मितिको यकिन भएन। हामी स्कूलका ठूलै क्लासमा पुगिसकेका थियौं। क्लास ठूलो भएर के गर्नु उमेरको हिसाबले आठ बर्ष र कक्षाको हिसाबले पाँचमा पुगेपछि मात्र हामी अंग्रेजीको अल्फावेट पढन शुरू गरेका थियौ। यसको केहीपछि मात्र हामी सबै दौतरीहरू आफुलाई अरू भन्दा बढी पढक्कर देखाउन “ग्रेड सिक्स” र अंग्रेजीको अर्को नाम “इंगलिस” भन्न थालेका थियौं। जे होस, यो भन्दा पहिला नै मलाई भारतको अर्को नाम इंडिया हो भन्ने थाहा भैसकेको थियो। तर, मेरै केही साथीहरू थिए जस्को एकाघरका काका दाजुहरू निकै क्लास उक्लेका थिए। परिवार कै यी सिनीयरहरूको संगत र हप्कीदप्कीमा केही साथीहरूमा अलिक छिट्टै अंग्रेजी पसेको थियो। छिप्पिएकोलाई हामी गाँउको भाखामा “जुयाएल” भन्थ्यौ। ती साथीहरू भने छिट्टो इंगलिस जान्ने भएकोले अलिक जुयाएल छन् भनेर हामी आपसमा गफिन्थ्यौ। म पनि ‘सोभियत भूमि’ पढेर ‘युएसएसआर’ त बुझेकै थिए नि!

बि.स. २०२८ हाम्रो निम्ति बडो उल्लेख्य छ। यही साल देखि शिक्षा क्षेत्रमा नयाँ शिक्षा योजना लागू भएर ठूला शहरका कलेजहरूमा उम्लिरहेको पंचायती व्यवस्थाको विरोधी चेतना हाम्रो गाँउको स्कूल तिर पनि आईपुगेको थियो। त्यस बखतका सर्वाधिक चर्चित नेता रामराजा प्रसाद सिंहले मेरो गाँउमा नेपाल बिद्यार्थी संघको शाखा उदघाटन गर्नु भएको थियो। हामी मध्ये धेरैले उहाँलाई जिल्लाको जमिंदारका बिद्रोही छोराको रूपमा चिनेका थियौं। काठमांडू तिर उहाँको वकालतको बडो चर्चा भैरहेको थियो। त्यस दिन उहाँको भाषण बेजोडको थियो। हामीले गणतन्त्र बुझेका थिएनौं, पंचायती व्यवस्थाको कठोरताका दिनहरू थिए। तर, तेस बेला नै रामराजाको बोली राजाको बिरोधमा कडा थियो। हाम्रो मनमा रामराजाले आगो लगाएर जानु भो। यसपछि उहाँ जेल परेको सुन्यौं। रेडियोमा जति बेलापनि देशमा बिकासको मूल फुट्ने कुरा सुनिन्थ्यो। यो मूल फुटने कुरा सुनेर हामी खेतबारीमा पनि सावधानीले हिडन थालेका थियौं।

यस अघि देखि नै खासगरी बि.स. २०२४ सालपछि जताततै “जनसहभागिता” र “जनश्रमदान” शब्दहरू सुनिन्थ्यो। मेरो गाँउ छेउबाटै राजमार्गको रेखांकन भएको थियो। अन्तैबाट यसको नामांकन महेन्द्र राजमार्ग भै यो नाम हाम्रो गाँउमा आई पुगेको थियो र यो सर्वाधिक कुराकानीको बिषय पनि भएको थियो। यस राजमार्गको बारेमा कोशी ब्यारेज पारी बडो बिवाद थियो। कोशी ब्यारेजको ५६ ढोका अहिले सप्तरी र सुनसरीमा २८-२८ गरी बाडिएको छ। तर तेसबेला कोशी बैरेज पारी लौकही, अझ् खुनिया खोलासम्म सप्तरी नै पर्दथ्यो, सप्तरीका छ वटा पंचायत उतै थियो। राजमार्गको रेखांकन आजको ईनरूवा बजार छलेर उत्तर तिरबाट पश्चिम लाग्ने योजना थियो। ईनरूवाका होमबहादुर श्रेष्ठ र दीलबहादुर श्रेष्ठ दाजुभाई बलिया पंच नेताहरू थिए। उनिहरूले बलजोड गरेर ईनरूवासंग टसाएर राजमार्गको रेखांकन गराएको कुराको बडो चर्चा थियो। यद्यपि, हाम्रा गाउँका भद्रभलाद्मीहरूको मत थियो- जे गरे पनि बाटो त कोशी बैरेज भएरै आउने हो नि! डर यस कुरोको थियो कि भारदहबाट हनुमाननगर हुदै राजबिराज तिर लाग्ने हो कि कंचनपुर हुदै आजको बाटो भएकै रूपमा बढने हो। मेरा गाउँका ठुलाबडाको कम पहुँच थिएन्, छत्रबहादुर सिजापति पंचायतका रजगजबाल नेता सूर्यबहादुर थापाका साख्य बहिनी ज्वाई थिए। बोधबिक्रम पंत, डा. लक्ष्मीनारायण दत्त, बस्नेतहरू, लुईटेलहरूको बडो पहुँच थियो। अन्ततः बाटोको रेखा कंचनपुर हुदै जानेगरी कोरियो। नभए, आज बरमझियाको पेडा थाहा हुने थिएन दुनियाँलाई। यसबाट बडो उत्साहित भए हाम्रा अग्रजहरू। अनि नयाँ बन्ने यस राजमार्गमा गाँउका सबैलाई हाँसीखुशी जनश्रमदान गर्न लगाईएको थियो। अब यही राजमार्ग भएर बस आउने छन् यो हाम्रो निम्ति सबैभन्दा ठूलो कौतुहलताको बिषय भएको थियो। जबकि, यस पछि पश्चिम-दक्षिण सप्तरीका ठुला नेताहरू कंचनपुरीयाका बिरोधी भए, लामो समयसम्म। बाटो बन्ने भएपछि पारी बिहारको भीमनगर, बीरपुर, फारबिशगंज जाँदा देखिने बसहरूसंग हामी मनमनै हाम्रो गाँउ तिर पनि गुडी आउन अनुरोध गरिरहेको हुन्थ्यौ । सीमा पारीको “अग्रवाल बस” र बिराटनगर तिरको “आराथुन बस” को आगमन हाम्रो लागि लक्ष्मी पूजामा धन सम्पतिको बर्षा होस भन्दापनि ठूलो आराधनाको बिषय बन्यो। स्कूलका सरहरूले पर्खन भन्थे, अब बस चढन पाउछौं, दिनै पिच्छे लोभ्याउथे।

अह् क्याबात थियो, त्यसबाटोमा फत्तेपुर हुदै भारदहसम्म हनुमाननगरका लक्ष्मीले पैसेन्जर बोक्ने “विलीज” जीप चलाएका थिए। हो, फत्तेपुर तिरबाट काठको गोलिया ढुवानी गरेर सीमा पारी पुर्याउने उ बेलाको “शक्तिमान” ट्रकलाई सार्वजनिक यातायात नमान्ने हो भने लक्ष्मीको विलीज जीप नै हाम्रो गाँउठाँउको पहिलो सार्वजनिक यातायात थियो। यस जीपका खलासी बडो मुस्तैद हुन्थे। कुनै पनि कारणले जीप रोकिना साथै खलसीयाले तुरन्तै जीपको सधैं खुला रहने रेडिबाटरको ट्यांकमा झट्ट पानी हाल्ने गर्थे। जीप स्वंयले जन्माउने पाउडर धुलोको बादल भित्र आफ्नो बाटो खोज्दै बढनु पर्दथ्यो। स्टार्ट बन्द भयो कि चंखे खलसीया तुरून्त हैण्डिललाई बोनटको अगाडीको प्वालमा छिराएर फन्नक्क घुमाउने। क्याच्च क्याच्च गर्दै घुर्धुर्घुर आवाजसंगै स्टार्ट हुनु….अहा…क्या अनुभव थियो!
स्कूलमा हाम्रा अग्रज केही दाईहरू मैट्रिक पास गरी विराटनगर तथा अन्यत्रका कलेजहरूमा नेतागिरी गर्न शुरू गरेका थिए। पुष्कर दत्त, नन्दप्रसाद गजुरेल, बिकाशबिक्रम पंत, खगेन्द्र खडका, अर्जुनसिंह परमार आदि। बिकाश पंत बडो तिख्खर, सामाजिक काममा पनि खुब सक्रिय हुने। उनिहरूले विराटनगर तिरबाट बस चलाउने जुक्ति मिलाए। यसपछि हाम्रो गाँउमा “आराथुन” बस आउने भयो। कति धेरै कौतुहलता थियो हामीमा! खानापिन सबमा बेपर्वाह भएका थियौ हामी! बस आओस् यही थियो चाहना। हामी कक्षा कोठामा थियौ। अचानक, टाडाबाट ठूलो आवाज आयो, आईरह्यो। घ्वाँ घ्वाँ…..घुर्धुर्घुर…घुर्धुर्घुर गरी! स्कूल भरी कोलाहल मच्चियो! बस आयो..बस आयो….! सर्वत्र यही आवाज…एलै बस..बस एलै…! भईया हौं…नेपाली मैथिली..एउटै आवाज बन्यो..बस आयो ! बस एलै हौं !! सरकारी कामकाजको भाषा र राष्ट्र भाषा एउटै भयो..बस आयो! बस एलै !! घच्क्क घच्क्क गर्दै बस स्कूलको अगाडी हुदै चाँदनी चौक तिर लाग्यो।

स्कूलको अनुशासन भंग भयो। उ बेलाका साना-ठुला सबै ‘जेनिजी’हरू फुक्का भए, सबै बन्धन चुँडियो। शिवनाथ सिंह सबभन्दा कडा हेडसर फेल भए! ढोडिया सर अर्थात जनक किशोर लाल दास। सब भन्दा कडा सर..फेल! दौड रे ! कुदौ..साथी…भाग रे…!!! सब चान्दनी चौक तिर बस हेर्न। बस छुन…!! बस चढन…!!! तर, मास्टरहरूले कहाँ मान्थे र ? पहिले देखि नै बालेश्वर झा ले तयार पारी राख्ने बाँसका करचीहरूको छडी एकाएक सबै मास्टरहरूका हातमा पुग्यो। बालेश्वर झा, हाम्रो स्कूलको पियन थिए। बदमास विद्यार्थीहरूलाई तह लाउने छडीका उनी स्टोकिष्ट हुन्थे। हेड सरले माग्यो कि तयार। त्यस बेला त्यसै भयो। तर सरहरू नरम भए। उनिहरू हामीलाई व्यवस्थित पारेर बस देखाउन चाहेका मात्र थिए। आज म याद गर्छु, हाम्रा ती सबै गुरू तथा स्कूलका पियन पालेहरू अस्ती भदौं २४ गतेसम्म रहेका नेपाल मुलुकका प्रधानमंत्रीको भन्दा धेरै ज्ञानी थिए। हाम्रा स्कूलका बालखहरू भाग्छन् भनेर बस न पठाउन बस कम्पनीलाई चिठ्ठी लेखेनन्। बस आयो पनि र हाम्रो ईच्छालाई बिचारेर व्यवस्थित रूपमा बस देखाए पनि। कुनै दुर्घटना भएन। मलाई लाग्छ, हाम्रा धेरै नेताहरू स्कूल आदिमा न पढेर पनि आफुलाई बाल सुलभ मनहरूलाई माया गर्नै नसक्ने गरी नृशंस बनाए।

मानिसको त्यति ठूलो भीड मैले गाँउमा कमै देखेको थिए। हो, एक पटक लामखुट्टे अर्थात मच्छड भगाउने औषधि डि.डि.टी. पाउडर लिएर युएस ऐडको हेलिकोप्टर ओर्लेको थियो। त्यस बेलाको भीड जति बस हेर्ने बेला थिएन। चार जना पुलिस रहने चौकी थियो गाँउमा। अष्टमान श्रेष्ठ नामका हवल्दार थिए, झपक्क रात पर्नु अघिसम्म उनि कालो चश्मा लाउथे। वास्तवमा उनले लाएको कालो सिसाको चश्माले पुरै राज्य शक्तिलाई ढाकेर राखेको थियो। अहिले संझन्छु, उस्ले लिई हिडने सखुवा काठको सानो लठ्ठी र चश्माले नदेखिने आँखामा राज्यको तीनवटै अंगहरू समाहित थियो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका; एक/चारको त्यो चौकीले कानूनको निर्माण, निसाफ र शासन सबै गर्दथ्यो। यिनै हल्दार अष्टमान आएपछि मात्र बस हेर्न आएका भीड नियन्त्रित भयो। हाम्रा सरहरूले राम्रो सुझाव दिए। बसको पछाडीको ढोकाबाट सबैलाई छिराउने र अगाडीको ढोकाबाट निकाल्ने। यसरी व्यवस्था मिलाईएपछि हामी समेत धेरैले गाँउमा पहिलो पटक पदार्पण गरेको बस हेर्न भ्यायौं। पंक्तिबद्ध भई बस भित्र छिरेपछि भ्याई नभ्याई भयो। कोही झ्याल खोल्ने, कोई झट्ट सीटमा बसी झ्याल बाहिर हेर्ने, कोई हिडदै नहिड्को बस गुडी पो हाल्छ कि भनेक बीच बीचमा ठडिएका फलामे पोल कस्सिएर समाई रहेको…अनेक उपाय गरी सरहरूले बाहिर पुर्याए हामीलाई। यस पछि दिनमा एक पटक त्यो आराथुन बस आउने र राती चाँदनी चौकमा बास बसेर भोली पल्ट विहानै बिराटनगर तिर जाने यातायात सेवा शुरू भयो।

यही बेला यौटा न रमाईलो घटना भयो। चाँदनी चौकमा बडेमानको बरको रूख थियो, सयौं बर्ष पुरानो होला। राती बस तेसैको मुनी पार्क गरिन्थ्यो। बर रूखका हाँगाहरू तलसम्म लत्रिएका हुन्थे। रोकिएका बसको छानाको ठिक माथी छुने गरी। तेस रात बिचरा खलासी थकित भई तेही बसको छानामा सुतेका थिए, गर्मी छल्नलाई पनि होला। बिहान डरेभरले बोलाउदाँ उठेन। माथी गई हेर्दा त नाकबाट रगत बग्दै गरी चलमल छैन, मरे बिचरा। गाउँमा ठुलै हल्लीखल्ली मच्चियो। पुलीस प्रशासन आफ्नो काममा लागे। धामीझाक्रीहरूले देउता रिसाएको भने। मेरो साथी रितु भुजेलले भन्यो-“बुझ्यौं ठिक ठिक अध पहरीया…नाचे चौधरीया।” म उसको कुरा बुझ्नै गारो मान्छे। गफाडी थियो, मधेसमै जन्मेहुर्केको भुजेल खाट्टी भाषा बोल्थे। तर मैले बुझे। “अध पहर” भनेको बोलचालको भाषामा आधी प्रहर हो, आधी रात भनेको। उसले भनेको थियो, ठिक आधी रातको प्रहरमा चौधरीया भूतले यिनलाई मारे। नाक थिचेर मारे, तेसैले रगत बाहिरियो। हाम्रा स्कूलको सरले यसलाई कूतर्क भने। बिज्ञानका बिश्वनाथ साह सर हाम्रो गाउँका आईन्सटाईन थिए, अलवर्ट आईन्सटाईन। सरको बलियो मत थियो-“केटा हो, यस्तो कुरामा भर पर्नु हुदैन। राम्ररी बिज्ञान पढ, बोटानी पढ। यिनलाई अक्सिजनको अभाव भयो। “बनस्पतिले दिनमा कार्बन डाइअक्साइड लिएर अक्सिजन उत्सर्जन गर्छ, तर रातमा यसको विपरीत हुन्छ, अक्सिजन लिएर कार्बन डाइअक्साईड फाल्छ।” बुझ्यौ, यिनलाई तेसैले कार्बन डाइअक्साइड बढी भयो र मर्यो। म फसादमा परेको थिए-एकातिर रितु भुजेलको “चौधरीया थ्योरी” यता बिश्वनाथ सरको बिज्ञान। तर हामी सबै बिज्ञानको पक्षमा उभिएका थियौं। कुरा धेरै पुरानो भएपनि हाम्रो पुस्ता भने “राम अयोध्यामा जन्मेको होईन, हाम्रै ठाडीमा जन्मेका हुन्” भनेर “बाल्टीमा ध्यू अडन् सक्छ भने ध्यूमा बाल्टी किन अडदैन? भनी तर्क गर्नेमा परेनौं क्यार!

अहिले गाँउमा बसेर यी कुराहरू संझिसंझि रमाईलो गर्ने मेरा दौतरी साथीहरू विरलै भेटिन्छन्। सब आफ्ना लालाबालालाई हुर्काउन, पढाउन र जागिर खान बाहिर बाहिरै छन्। यिनीहरु कमै गाँउ आउछन्।
म पनि आज मात्रै केही दिनपछि गाँउमा ओर्ले। अनि भेट भयो, बिश्वनाथसंग। फेरी चिया पसलमा नाती खेलाउदै आईपुगे जयनन्दन मंडल। विश्वनाथ अहिले रिक्सा ठेला चलाउँछन्, जयनन्दन घरखेतीमा छन्। उही चाँदनी चौकको अवशेषमा यौटा चिया पसल छ। मैले मेरा दुबै बालसखासंग भेटने मौका जुर्यो। राती नाईट बसको सवारी गरी गाउँ ओर्लेको, अनि कुरा अठ्यो गाँउमा पहिलो पटक बस आएको!

विश्वनाथलाई रिक्सा ठेला लिई जाने हतार थियो। जेपी भेटदै गरौं है भनेर उनि लागे। म अहिले फेरिएको चाँदनी चौक मुन्तिर रहेको झुपरे चिया पसलमा धेरै वेर बसेर पुराना कुराहरू संझना गरिरहें।
(श्यामस्वेत तस्वीर मै जेन्जी, ठेला बाल मेरा सहपाठी)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x