मायादेवी गाउँपालिका, कपिलवस्तुले अति आवश्यक बरुण यन्त्र (दमकल) प्राप्त
कपिलवस्तु – जनताको लामो समयको मागपछि मायादेवी गाउँपालिका, कपिलवस्तुले अति आवश्यक बरुण यन्त्र (दमकल) प्राप्त गरेको छ ।
दमकल जापान दूतावासको सहयोगमा र युनाइटेड मिशन टु नेपाल (UMN) को सहकार्यमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । दमकल हस्तान्तरण कार्यक्रम UMN को केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो। 
सो अवसरमा गाउँपालिकाका अध्यक्ष वलिउद्दिन खान र प्रशासकीय अधिकृत नरेन्द्र यादवले गाउँपालिकाको तर्फबाट दमकल ग्रहण गरेका थिए ।
पालिका अध्यक्ष वलिउद्दिन खानले भने, “यो दमकल हाम्रो गाउँपालिकाका बासिन्दाका लागि ठूलो राहतका रूपमा आएको छ । हरेक वर्ष आगलागीका घटनाले जनधनको क्षति पु-याउँदै आएकोमा अब तत्काल नियन्त्रण गर्न सहज हुनेछ ।
जापान दूतावास र UMN लाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु,” उनले भने । दमकल प्राप्त भएपछि गाउँपालिकामा हुने आगलागीका घटनामा तत्काल नियन्त्रण र उद्धार कार्य गर्न सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले गाउँमै दमकल उपलब्ध हुन लागेसँगै सुरक्षाको दृष्टिले ठूलो राहत मिल्ने बताएका छन् ।


