बङलादेश का नएता अजिजुर मुसाब्बिरको गोली हानी हत्या
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसाब्बिरको गोली हानी हत्या गरिएको छ भने करवान बजार भ्यान संघका महासचिव आबु सुफियान मसुद गोली प्रहारबाट घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बुधबार राति भएको यस घटनाले बंगलादेशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
मुसाब्बिर बीएनपीको स्वयंसेवी संगठन ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव थिए। घटना बुधबार राति करिब ८ः४० बजे राजधानी ढाकाको तेजगाउँ क्षेत्रअन्तर्गत बसुन्धरा मार्केट पछाडिको तेजतुरी बजार क्षेत्रमा भएको हो। अज्ञात बन्दुकधारीहरूले उनीहरूलाई लक्षित गर्दै अचानक गोली प्रहार गरेका थिए।
तेजगाउँ डिभिजनका अतिरिक्त उप–प्रहरी आयुक्त फजलुल करिमले मुसाब्बिरको मृत्यु भएको पुष्टि गरेका छन्। उनले भने, “स्टार कबाब नजिकको गल्लीमा दुई जनामाथि गोली प्रहार भयो। तीमध्ये मुसाब्बिरको मृत्यु भयो भने अर्का व्यक्ति उपचारका लागि ढाका मेडिकल कलेज अस्पताल पठाइएको छ।”
प्रहरीका अनुसार साँझ करिब ८ बजे फार्मगेट पार गरेर मोटरसाइकलमा आएका आक्रमणकारीहरूले करवान बजारस्थित स्टार कबाब अगाडि गोली चलाएका थिए। गोली लागेर मुसाब्बिर र मसुद दुवै गम्भीर घाइते भएका थिए। मुसाब्बिरलाई सुरुमा बीआरबी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो।
द डेली स्टारका अनुसार मुसाब्बिर त्यस दिन साँझ शरियतपुरका बासिन्दासँग सुपर स्टार होटल नजिक आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम सकिएपछि मुसाब्बिर र मसुद नजिकैको गल्ली हुँदै हिँडिरहेका बेला दुई आक्रमणकारीले उनीहरूमाथि गोली चलाएर फरार भएका थिए।
घाइते मसुदलाई उपचारका लागि ढाका मेडिकल कलेज अस्पताल लगिएको छ। अस्पतालस्थित प्रहरी क्याम्पका इन्स्पेक्टर मोहम्मद फारुकका अनुसार मसुदको पेटको बायाँ भागमा गोली लागेको छ र उनी आकस्मिक कक्षमा उपचाररत छन्।
मुसाब्बिरका परिवारजन र पार्टी कार्यकर्ताहरूका अनुसार अवामी लिगको शासनकालमा उनले लामो समय जेल जीवन बिताएका थिए र विभिन्न राजनीतिक मुद्दामा पटक–पटक पक्राउ परेका थिए। शरियतपुर जिल्लाका स्थायी बासिन्दा मुसाब्बिर तीन दाजुभाइमध्ये जेठा थिए र पश्चिम करवान बजारको गार्डेन रोडमा परिवारसँग बसोबास गर्दै आएका थिए।
उनले सन् २०२० मा तेजगाउँको वार्ड–२६ बाट बीएनपी समर्थित उम्मेदवारका रूपमा नगर परिषद् निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए। घटनापछि सोनारगाउँ चोक आसपास बीएनपीका स्थानीय नेता–कार्यकर्तासहितको समूहले प्रदर्शन गरेको थियो।
फागुन १२ मा तय गरिएको राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा भएको यो घटनाले देशमा बढ्दो राजनीतिक हिंसाप्रति चिन्ता थप बढाएको छ। पछिल्ला हप्ताहरूमा बंगलादेशका विभिन्न स्थानमा राजनीतिक हिंसाका घटना बढ्दै गएका समाचार आइरहेका छन्, जसले समग्र शान्ति सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। हिमालपत्रीका


