कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह
नेपालगञ्ज, फागुन २ । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गरेका छन् । नेपाल किसान महासंघ बाँकेले शनिबार (आज) नेपालगञ्जमा आयोजना गरेको ‘नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मदवारहरुसंग किसानहरुको प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम’ मा बोल्दै तिमिल्सिनाले कृषि क्षेत्रको बृहत्तर विकास र किसान बर्गको हित तथा उत्थानका लागि कांग्रेस मात्रै जिम्मेवार पार्टी भएको बताउँदै कांग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गरे ।
क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले किसानका पीर-मर्का बुझ्ने पार्टी कांग्रेस नै भएको बताए । पुनले कांग्रेसले स्थापना कालदेखि नै किसानमैत्री पार्टीको छबि बनाएको उल्लेख गरे । उनले किसान लगायत सबै बर्गलाई समेटेर मुलुक निर्माण कार्यको नेतृत्व लिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे । पुनले लोकतन्त्र र संविधान संकटमा परेको बेला मुलुकको सबैभन्दा जिम्मेवार पार्टी नेपाली कांग्रेसका पक्षमा मत जाहेर गर्न आमकिसानलाई आह्वान समेत गरे ।
क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेस किसानहरुकै पार्टी भएको बताए । उनले कांग्रेसले किसानका वास्तविक समस्या बुझेको जिकिर गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण र ब्यवसायीकरणका लागि काम गर्दै आएको बताए । किसान बर्गको उत्थानका लागि काम गर्ने गौडेलको प्रतिबद्धता छ ।


