“५५ वर्षको उमेरमा विश्व चिनाउँदै योगा डान्सर : श्याम गिरीको संघर्ष र सफलता”
नेपालगञ्ज उपमहानगरपालिका–१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अहिले सामाजिक सञ्जाल टिकटकमा एक अनौठो पहिचान बनाइसकेका छन्—“रेडियो प्रेमी वान”। नाम जति सरल छ, उहाँको यात्रा त्यति नै प्रेरणादायी र रोचक छ। 
२०६७ सालतिरबाट रेडियो कार्यक्रमका नियमित श्रोता बनेका गिरी विस्तारै “रेडियो प्रेमी” भनेर चिनिन थाले। रेडियोप्रतिको मोहले सुरु भएको यो परिचय आज सामाजिक सञ्जाल हुँदै अन्तर्राष्ट्रिय दर्शकमाझ फैलिएको छ। अहिले फेसबुक र टिकटकमा उहाँका भिडियोहरूले सीमाना नाघेर विदेशी दर्शकहरूको समेत ध्यान खिचिरहेका छन्। 
तर गिरीको पहिचान केवल रेडियोप्रेमीमा सीमित रहेन। पछिल्ला ७ वर्षदेखि उहाँले नृत्य क्षेत्रमा गरेको निरन्तर अभ्यासले उहाँलाई छुट्टै उचाइमा पुर्याएको छ। विशेषगरी “योगा डान्स” शैलीमा उहाँले आफैं विकास गरेका स्टेपहरू—जस्तै न्यु योगा हार्ड, “टु लेग फिङ्गर”, “फ्रन्ट टु ब्याक”, “वेटिङ स्केल” राउण्डिङ स्वीट, र “वान लेग फिङ्गर”—उहाँको मौलिकता र मेहनतको प्रमाण हुन्। यी स्टेपहरूले उहाँलाई नेपाल मात्र होइन, विश्वस्तरमै चिनिन मद्दत गरेको उहाँको दाबी छ।
गिरीको नृत्ययात्रा सजिलो थिएन। उमेर, चुनौती र अवसरको अभावजस्ता अनेक अवरोध पार गर्दै उहाँ यहाँसम्म आइपुग्नुभएको हो। उहाँ भन्छन्, “रुचि र लगाव भए उमेरले कहिल्यै रोक्दैन।” ५५ वर्षको उमेरमा पनि उहाँको ऊर्जा र समर्पण युवालाई प्रेरणा दिने खालको छ।
उहाँले आफ्नो प्रतिभा “मेरो डान्स सिजन २” जस्तो राष्ट्रिय स्तरको मञ्चमा पनि प्रस्तुत गरिसक्नु भयो । बाँकेबाट छनोट भई काठमाडौँ पुगेका गिरीले आफ्नो योगा डान्स प्रस्तुत गर्दा निर्णायकहरूबाट प्रशंसा पाउनुभयो। यसले उहाँको आत्मविश्वास अझ बढायो।
पहिले नेपाल आयल निगममा कार्यरत गिरी अहिले जागिरबाट निवृत्त भएर पूर्ण रूपमा आफ्नो रुचिमा केन्द्रित हुनुहुन्छ। घरमै बसेर नयाँ-नयाँ स्टेप सिक्ने, अभ्यास गर्ने र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने उहाँको दैनिकी बनेको छ।
श्याम गिरीको कथा केवल एक व्यक्तिको सफलताको कथा मात्र होइन, यो उमेर, स्थान र अवसरभन्दा परिश्रम र लगाव ठूलो हुन्छ भन्ने सन्देश हो। साधारण जीवनबाट असाधारण पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका गिरी आज धेरैका लागि प्रेरणाका स्रोत बनेका छन्। 




