ओलीसँग झुके प्रचण्ड र माधव, अब देउवाले लिड गर्ने
काठमाडौं । माधव नेपालको नेकपा एकीकृत समाजवादीलाई गैरकानुनी रुपमा दल दर्ताको मान्यता दिएको, एमालेले कारवाही गरेका १४ जनाको पद जोगाएको भन्दै नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।
संसद अवरुद्ध हुँदा सरकारका कामकारवाही प्रभावकारी रुपमा हुन सकेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धन नै असफल हुने खतरा बढेको छ ।
एमालेलाई मनाउन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालले सकेका छैनन् । अहिले यो समस्याको जड माधव नेपाल नै हुन् । उनकै कारण एमाले सर्वदलीय बैठकमा पनि उपस्थित भइरहेको छैन ।
सभामुखदेखि सर्वदलीयसम्म सबै प्रयास गर्दा पनि एमालेलाई सहमत गराउन सकिएको छैन । यसमा प्रचण्डले हार मानेका छन् । र अब एमालेसँग डिल गर्ने जिम्मा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् । सत्तारुढ गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।
यसअघि गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओली मनाउने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । पौडेलले अब प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेतालाई भेटेरै संसदको अवरोध हटाउने विषयमा संवाद गर्ने बताए ।


