१३ मंसिर २०८३, शनिबार

प्रचण्डको मास्टर प्लान : देउवालाई प्रयोग गरेर फेरि धोका दिने, केपी ओलीलाई झुकाएर शक्तिशाली बन्ने

एसीपी संवाददाता

२६ पुष २०७८, सोमबार ११:११ मा प्रकाशित

काठमाडौं । पाँच वर्षअघि देशमा नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार थियो । पहिला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पछि शेरबहादुर देउवा प्रधानमन्त्री आलोपालो प्रधानमन्त्री बने ।

प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले गठबन्धनको सहमति पूर्ण कार्यान्वयन गर्यो । तर देउवाको पालोमा प्रचण्डले धोका दिए । नेकपा एमालेसँग भित्रभित्रै सम्वाद गरेर एकाएक वाम गठबन्धन र पछि पार्टी एकतामा गए ।

२०७४ को चुनावको मुखमा प्रचण्डले कांग्रेसलाई धोका दिएर वाम एकताका नाममा एमालेसँग सहकार्य गरेका थिए । पछि पार्टी एकता नै गरेर नेकपा बनाए । यद्यपि त्यो एकता टिकेन । फेरि कांग्रेससँग सहकार्य गर्न आए । अहिले कांग्रेससहित पाँच दलीय गठबन्धनको नेतृत्व प्रचण्डले नै गरिरहेका छन् । चुनाव नजिकिँदै छ ।

प्रचण्डले २०७४ कै नियति दोहोर्याउने गरी रणनीति बनाएको जानकारहरु बताउँछन् । त्यतिखेरको धोका देउवाले बिर्सेका छैनन् । यद्यपि परिस्थितिले प्रचण्डसँग सहकार्य गर्न बाध्य बनायो । सहकार्यसँगै त्यतिखेरको हारको बदला कम्युनिस्टसँग लिन देउवा फेरि पार्टी सभापतिको दौडमा आएर निर्वाचित भए । आफै प्रधानमन्त्री छन् । चुनाव गराउने जिम्मेवारी २०७४ जस्तै उनकै काँधमा आएको छ । तर देउवाको यो मिसनलाई फेरि असफल बनाउने रणनीतिमा प्रचण्ड अगाडि बढेको पाइएको छ ।

प्रचण्डले पहिला देउवालाई उपयोग गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने र एमालेलाई पार्टी एकता गर्न बाध्य बनाएर आफू शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने रणनीति लिएका छन् । सत्ता र शक्तिमा खेल्न चतुर प्रचण्ड यसका लागि सिद्धान्त र एजेण्डालाई तिलाञ्जली दिएर जुनसुकै हदसम्म जान्छन् भन्ने विगतले पुष्टि गरिसकेको छ । तर यो भुंग्रोमा प्रजातान्त्रिक धारका कांग्रेस सभापति देउवा र विकासवादी नेता ओली नपर्न सचेत हुनुपर्ने देखिएको छ ।

देउवालाई धोका र प्रयोग

प्रचण्ड अस्थिर, धोकेबाज र सत्ताका लागि जस्तोसुकै सहकार्य गर्न तयार हुने लिडर हुन् भन्ने कांग्रेस सभापति देउवाले नबुझेका होइनन् । तर परिस्थितिले प्रचण्डसँगै नजिक गराउँछ । यसपालि फेरि प्रचण्डको धोकेबाज प्रवृत्ति दोहोरिने खतरा बढेको छ ।

प्रचण्डले कहिले कांग्रेस देखाएर एमाले तर्साउने त कहिले एमाले देखाएर कांग्रेस धुर्क्याउने गरेका छन् । अहिले गठबन्धन गरेका प्रचण्डले प्रधानमन्त्री देउवालाई घुर्क्याइरहेका छन् । संसद विघटन गरेर चुनाव घोषणा गरे, राजीनामा दिए गठबन्धन तोड्ने धम्की दिएर प्रचण्डले देउवालाई दबाबमा राखेका छन् ।

देउवानिकट नेताहरुका अनुसार ओलीलाई देखाएर प्रचण्डले देउवालाई दबाब तथा प्रभावमा राखेका छन् । ‘मलाई ओलीजीले फोन गरेर आउनुस् गठबन्धन गरौं । सहकार्य गरौं ।

फेरि कम्युनिस्ट एकता गरेर बलियो पार्टी बनाउ भनिराख्नुभएको भन्ने कुराहरु सुनाएर प्रचण्डले देउवा दाईलाई दबाबमा राख्नुभएको छ । जसका कारण देउवा दाईले अलिकति स्वतन्त्र हिसाबले काम गर्न सकिरहनुभएको छैन,’ देउवानिकट एक उच्च नेताले भने । उनकाअनुसार प्रधानमन्त्री देउवाले प्रचण्डले भनेको काम गर्नुपरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा पनि यो देखियो । प्रचण्डकै कारण कांग्रेस लिडिङ पार्टी भए पनि भागवण्डामा बराबर सीट बाड्नुपरेको छ । अस्तिमात्रै खुलेको माधव नेपालको नेकपा एस पार्टीलाई ५ सीट दिनुपरयो । जनाधार नै नभएको जनमोर्चालाई पनि भाग दिनु परयो । जसका कारण कांग्रेसले हैसियत अनुसारको सीट पाएन । प्रचण्डले मिलाएको भागवण्डा मान्नुपरयो ।

यो त एउटा उदाहरण भयो ।

प्रचण्डले देउवालाई सरकारमा राखेर बदनाम गराउने, छवि थप क्षति पार्ने रणनीति पनि लिएका छन् । कांग्रेसलाई सरकार छोड्न नदिने र जति धेरै सरकारमा बस्यो त्यति नै बदनाम गराउने, लोकप्रियता घटाउने, भोट घटाउने, कांग्रेसका बलिया उम्मेदवारलाई कमजोर पार्ने जित्ने अवस्था धुमिल पार्ने रणनीति पनि देखिएको नेताहरुको बुझाई छ ।

ओलीलाई कमजोर पार्ने

एकातिर यसरी देउवालाई धोका तथा कमजोर पार्ने रणनीति छ भने अर्कोतिर ओलीलाई पनि कमजोर पारेर झुकाउने नीति रहेको छ । ओलीलाई घमण्डी, अहंकारी भन्दै आएका प्रचण्डले ओलीको घमण्ड तोड्न भन्दै कमजोर बनाउने रणनीति लिएका हुन् ।

जसमा कांग्रेससँग आफू, माधव नेपाल र उपेन्द्र यादव मिलेर चुनावमा एमालेलाई हराउने र कमजोर बनाउने योजना छ । जुन एक स्टेपमा कार्यान्वयनमा पनि आइसकेको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रचण्डले चाहेजस्तै गठबन्धन र सीट बाँडफाँड भएको छ ।

यो गठबन्धन र बाँडफाँडलाई प्रचण्डले स्थानीय चुनावमा पनि लैजाने र एमालेलाई कमजोर बनाउने रणनीति लिएका छन् । स्थानीय तहमा एमालेलाई पराजित गरेर ओली कमजोर हुने अवस्था सिर्जना गर्ने र त्यसपछि पार्टी एकताका लागि दबाब सिर्जना गर्ने रणनीति छ ।

यसमा उत्तरी छिमेकी चीनका कम्युनिस्ट पार्टीका नेतालाई पनि ‘कमजोर भएकाले पार्टी एकता गर्नुस्’ भन्नका लागि परिचालन गरिनेछ । एमालेभित्र पनि प्रचण्डसँग एकताको पक्षमा रहेका वा चीनसँग निकट नेताले पनि मिलेर गठबन्धन गरेर जानुपर्ने भन्दै ओलीलाई एकताका लागि दबाब दिनेछन् ।

यति हुँदैगर्दा अघिल्लो पटकजस्तो गठबन्धन गर्दाको गल्ती नदोहोर्याउने र उधारो सहमति होइन नगद अर्थात ठाउँको ठाउँ कार्यान्वयन गरेर जाने नीति लिएको माओवादीका एक नेता बताउँछन् । यसमा चिनियाँ पक्षको पहलमा नेकपा एकताजस्तो भद्र सहमति होइन एकतापछि एक जना अध्यक्ष र एक जना प्रधानमन्त्रीको जिम्मेवारी बाँडिनेछ ।

अर्थात ओली प्रधानमन्त्री भए भने प्रचण्ड पार्टी अध्यक्ष हुनेछन् । माधव नेपाल वरिष्ठ नेता हुनेछन् । झलनाथ खनाल राष्ट्रपति हुनेछन् । यो मोडललाई पहिलो विकल्पका रुपमा राखिएको छ । यद्यपि यसपटक भागवण्डा वा जिम्मेवारी बाँडफाँडमा चीनको प्रत्यक्ष संलग्नता हुनेछ ।

जस्तो कि एकीकृत पार्टीमा कसको वरियता के हुने, संसदीय निर्वाचनमा कुन नेता कहाँबाट चुनाव लड्ने, प्रधानमन्त्री र राष्ट्रपति कसलाई बनाउने, महान्यायाधिवक्ता को हुने, प्रधानमन्त्रीको सचिवालय कस्तो बनाउने भन्ने कुरामा पहिले चिनियाँ सल्लाहमा तय गरिनेछ । नेतृत्वको जिम्मेवारी बाँडफाडमा एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले स्वीकार गर्ने अवस्था नभएमा माथिको स्पिरिटअनुसार यहाँनेर अर्को विकल्प पनि तयार गरिएको छ ।

त्यो भनेको पहिलो वरियताका शीर्ष नेतालाई विश्राम दिएर वा सल्लाहकार भूमिकामा राखेर दुबै पार्टीका दोस्रो वरियताका नेतालाई अगाडि बढाएर पार्टीमा समीकरण बनाउने प्रयास हुनेछ । यसरी चीनको समर्थनमा प्रचण्डको मुख्य रणनीति भनेको देउवासँग सँगै हिँडेर प्रयोग गरेर ओली कमजोर बनाउने, झुकाउने र वाम गठबन्धनका लागि देशीविदेशीसहित चौतर्फी दबाब सिर्जना गरेर बाध्य पार्ने देखिन्छ ।

यसरी दुईटा चुनावमा ओली कमजोर भएसँगै समीकरण पनि उल्ट्याउने प्रचण्ड रणनीति छ । जसमा यसअघि एमाले ६० र माओवादी ४० प्रतिशत हिस्सा फेरिएर अब प्रचण्ड-माधव नेपाल ६० र ओली ४० प्रतिशतको रणनीति लागु गरिनेछ । यसमा सहमत गराउन चिनियाँहरुलाई पनि उपयोग गर्ने रणनीति छ ।

यसले एकातिर देउवालाई उपयोग गरेर धोका दिने र अर्कोतिर ओलीसँग बदला लिने अवसरका रुपमा प्रचण्ड अघि बढेका छन् । अर्थात एक तिर दुई निशानाको थ्योरीमा प्रचण्ड रणनीति अघि बढेको देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x