गृहमन्त्री खाडले मधेसबाट पहिलोपटक महिला प्रहरीलाई बनाए डीआईजी, मधेसी जनताले दिए धन्यवाद
काठमाडौं । सरकारले मधेसबाट पहिलोपटक महिला प्रहरीलाई नायव महानिरीक्षक (डीआईजी) बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मधेसबाट प्रतिनिधित्व गर्ने एसएसपी पूजा सिंहलाई समग्र मधेसका महिलाको प्रतिनिधित्व हुनेगरी डीआईजीमा बढुवा गरेका हुन् ।
गृहमन्त्री खाडले मधेसलाई उच्च सम्मान गरेपछि मधेसी जनताले खाड तथा सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले मन्त्रालयमा भेटेर धन्यवाद दिएको हो । ‘मधेसी महिला सिंहलाई डीआईजी बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ’, यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।’
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचित छिन् । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन् ।


