खाडीमा नेपाली अलपत्र पार्ने दलालविरुद्ध कठोर बने गृहमन्त्री, श्रममन्त्री बोलाएर थाले छानविन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाडले खाडीमा लगेर नेपाली अलपत्र पार्ने वैदेशिक रोजगारका दलालहरुविरुद्ध कठोर कदम चालेका छन् ।
भिजिट भिसामा दलालको भर परेर दुबई, कतार, साउदी पुगेर नेपालीहरु अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि गृहमन्त्री खाडले श्रममन्त्री बोलाएर कडा एक्सन लिएका हुन् ।
दलालहरुमाथि कारवाही गर्न गृहमन्त्री खाडले छानविन समिति नै बनाएका छन् । नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
समिति गठन गर्न गृहमन्त्री खाडले मन्त्रालयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापन तथा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहित सरोकारवाला सरकारी निकायहरूका अधिकारी बोलाएर बैठक राखेका थिए ।
खाँडले विशेषगरी खाडीमा नेपालीहरु अलपत्र परेको समाचार आएपछि तत्काल एक्सन लिएका हुन् । आम नागरिक, रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र चलाउने नेपाली कामदारलाई सरकार भएको प्रत्याभूति हुनेगरी खाडले प्राथमिकतामा राखेर काम थालेका हुन् ।


