आज नेता मदन भन्डारीको जन्मदिन , रहश्यमय घटनाको छानवीनको `छ´पनि उच्चारण हुँदैन
आज नेता मदन भन्डारीको जन्मदिन रहेछ। छोटो समयमा चर्चा र ख्याति कमाएका नेता भन्डारीको नाम अहिले पनि उत्तिकै छाइरहन्छ नेपाली राजनीतिमा। उहाँप्रति हार्दिक श्रद्दासुमन अर्पण गर्दछुँ। 
अर्का नेता जीवराज आश्रितसँगै दासढुंगामा भएको `सवारी दुर्घटना ´ ? मा अल्पायुमै निधन भएका मदनकै पार्टी दुईतिहाई बहुमत सहित सरकारमा छ । उनकै अर्धाङ्गिनी राष्ट्रपति छन् । तर उक्त रहश्यमय घटनाको छानवीनको `छ´पनि उच्चारण हुँदैन। त्यतिवेला `यो हत्या हो´ भनेर सडकका रेलिङ देखि सदनका माइक भाँच्ने `कमरेड´हरु सत्तामा र त्यसैको सेरोफेरोमा लामो समयदेखि छन्। तर विडम्वना दासढुंगाको उक्त घटनास्थलमा घटना को केहि समय पछि वनाईएको संरचना बेहाल अवस्थामा पुगेछ। कलेज पढ्दा शैक्षिक भ्रमणमा जाँदा उक्त ठाउँ निकै जिज्ञासु भएर हेरेका थियौं हामीले। सिमेन्ट वाट वनाइएको पेटीमाथि एउटा सानो ढुंगा राखेर जोडएको थियो। त्यो ढुंगा के होला भन्ने हाम्रो जिज्ञासाको जवाफ स्थानीयवाट पनि पाउन नसकेपछि त्यही ढुंगा आउने गरि फोटो खिचेका थियौं त्यतिवेला। उक्त दुर्घटनास्थल हेर्न वस र नीजी गाडी मोटरसाइकल रोकेर मानिसहरु घुईंचो लागेका देखिन्थे। लामै अन्तरालपछि लकडाउन शुरु हुनु अघिल्लो दिन सहकर्मी भाई अर्जुन जैशी र म दासढुंगामा रहेको नेताद्वयको शालिक भएको ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा मैले वाटोमा अर्जुनलाई भनेजस्तो थिएन। मैले भनेको ढुंगा र त्रिशुली तर्फ जाने सिंढी पनि थिएन त्यहाँ। अनि म अलमलमा परें। (हामी कलेजवाट जाँदा शालिक थिएन ) अनि म खोज्न थाले त्यो ठाउँ। अलि पर हिंडेपछि रोकिराखेको ट्रकहरुको वीच एउटा पसल भित्रवाट तल गयौं अनि सिंढी देखियो । अनि मैले भनेको पेटी र त्यो ढुंगा भेट्टायौं पातहरु र फोहर पन्छाएपछि । त्यहीं नजिक ट्वाइलेट वनाइएको रहेछ, सडक वाट तल झर्ने ठाउँमा पसल वनेछ। पुरै विजोग हालत। नयाँ पुस्ताका धेरैलाई यो ठाउँ थाह छैन, उनीहरुले शालिक मात्र देखेका छन् – अर्जुन भाईले झैं। मैले सिंढीमा पुर्याएपछि उनी निकै जिज्ञासु देखिए जस्तो कलेज वाट `टुर´ जाँदा म थिएँ। हिन्दु सनातन धर्म अनुसार भण्डारी र आश्रितको आत्माले यो स्थान, उनको पार्टी र नेपाली राजनीतिलाई नियाली रहेकै हुनुपर्छ। दुवैजनाप्रति फेरि एकपटक श्रद्दासुमन अर्पण गर्दछुँ। म नेता भण्डारीको विचार र राजनीतिक दर्शनको होइन , उहाँको व्यक्तित्वको प्रशंसक हुँ। ईतिहास मेटिनु हुँदैन भन्ने मान्यतामा विश्वास गर्ने भएकोले यो ठाउँको संरक्षणकालागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छुँ। यो ठाउँ अध्येताहरुकालागि जोगाएर राखौं- नेताहरु र नेपाली राजनीतिको सम्मानकालागि पनि ! तस्वीर – Antaral PhotoBank । समाजिक संजालम जय नारायण शाहले पोस्ट गरेका छ्न ।



