१० कार्तिक २०८३, सोमबार

ओलिले दिए मधेसी नेतालाई धोका : अलपत्र परे राजेन्द्र महतो

एसीपी संवाददाता

२७ भाद्र २०७९, सोमबार २०:३२ मा प्रकाशित

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदबार उठाउने बताएका छन् ।

तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘३ नम्बरबाटै बोलिरहेको छु । कसैलाई भ्रम नहोस् । यस क्षेत्रमा एमाले उठ्छ, एमालेले आफ्नै उम्मेदबार उठाउँछ ।’  विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन सोमबार जनकपुरधाम आएका उनले धेरै मानिस प्रवेश गरेपछि एमाले यहाँ पनि मजबुत भएको बताए । ‘‍…त्यसकारण यसो एमालेसँग पनि साँठगाँठ गरेर फुत्काउन पाइन्छ कि भनेर सोंच्या होला,’ उनले भने, ‘त्यो कुरा हुनेवाला छैन । एमालेले यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाउँछ ।’  धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा नेता महतो चुनाव लड्ने तयारीमा छन् भने एमालेले यो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ ।  कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रदेशको कुल ३२ मध्ये १० वटा सिटमा एमाले जित्ने बताएपछि ओलीले महासेठसँग प्रश्न गरे, ‘अरु सिट कसका लागि छाड्ने त ?’ उनले सबैतिर आफ्नै उम्मेदवार उठाउने संकेत गरे । ‘असोज ८ गते धनुषाकै क्षेत्र नम्बर २ मा हजारौंको एमालेमा प्रवेश हुन्छ, प्रवेश गराउन म आफैं आउँछु,’ ओलीले भने, ‘एमालेबाहेक कसैले पार्टी जोगाउन सक्ने अवस्था छैन ।’

गठबन्धन अत्यन्तै अपवित्र भएको उनले बताए । ‘गठबन्धन अपिवत्र कुरा हो, उद्देश्यविहीन नीतिहीन, गन्तव्यहीन, सिद्धान्तहिन, कार्यक्रमविहीन, योजना नभएको यस्तो गठबन्धन एमालेले गर्दैन’ उनले भने ।

चुनावी तालमेल भने हुनसक्ने उनले बताए । ‘लोकतन्त्रमा कहिले–कहिले, कुनै–कुनै पार्टीको रेस्क्यु पनि गरिदिनुपर्ने हुन्छ’ उनले भने, त्यसका निम्ति तालमेल हुन सक्छ ।’

वंशजको आधारमा नागरिकता दिने प्रस्ताव आए पारित गरिदिन्छौं

एमाले अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउने कुरा मात्रै राखिए नागरिकता विधेयक पारित हुने बताए ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रमाण पत्र उपलब्ध गराउने मात्रै संसदमा पारित गराउनुपर्ने उनले बताए । ‘प्रस्ताव ल्याउँ संसदमा पारित गराउने जिम्मा मेरो’ उनले भने, ‘प्रतिपक्षीले तुरुन्त समर्थन गर्छ । एमालेले साथ दिन्छ । तुरुन्त पास गर्छ ।’

यति प्रस्ताव मात्रै ल्याएपछि संसदमा पारित गराउने जिम्मा आफ्नो भएको उनले बताए । ‘जन्मसिद्धका नागरिकले नागरिकता पाउनुपर्छ भन्ने एमालेको नारा हो । म सात दिनदेखि कराइरहेको छु’ उनले भने, ‘तर एमालेले नागरिकताको प्रमाण पत्र दिएन भनेर भ्रम फैलाउने, जनता अल्मल्याएर भोटको राजनीति गर्न खोजेको छ ।’

नेताहरुको अनुहारबाट मुस्कान हराइसक्यो

भाषणका क्रममा एमाले अध्यक्ष ओलीले गठबन्धनका नेताहरुको अनुहराबाट मुस्कान हराइसकेको समेत बताएका छन् । ‘अहिले उहाँहरुको हडबडी र त्रास छ,’ उनले भने, ‘उहाँहरुले मंसिर ४ गतेको परिणाम हेरिसक्नुभएको छ ।’

एमालेबाहेक अरु दललाई गठबन्धन बाध्यता नै रहेको उनले बताए । ‘गठबन्धन नगरी एमालेतिर नहेरे हुन्छ । आँट नगरे हुन्छ’ उनले भने, ‘यो कुरा शेरबहादुरजीले राम्ररी बुझनुभएको छ । पुष्कपकल दाहालजीले बुझनुभएको छ ।’ कुनै सिद्धान्तको जलप लगाएर, नक्कली मुद्दा खडा गरेर, अफवाह फैलाएर नेपाली जनताको भविष्य अन्धकारमा राख्ने छुट कसैलाई नभएको उनले बताए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x