१० असार २०८३, बुधबार

कोभिड ‘चीनको प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने’

एसीपी संवाददाता

१९ चैत्र २०७९, आईतवार १७:३७ मा प्रकाशित

एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ भाइरस “सम्भवतः” “चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला”मा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्।

“एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ,” उनले फक्स न्यूजसँग भने।

महामारी निम्त्याएको भाइरस कसरी देखा पर्‍यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी पहिलो पटक सार्वजनिक गरिएको हो।

चीनले उक्त आरोप मानहानीपूर्ण किसिमको भएको बताउँदै वुहानमा भाइरस प्रयोगशालाबाट बाहिरिएको विवरणको खण्डन गरेको छ।

चीनका लागि अमेरिकी राजदूतले कोभिडको उत्पत्ति बारे “थप इमानदार” हुन चीनसँग आग्रह गरेको एक दिन पछि रेले उक्त विषयमा प्रतिक्रिया जनाएका हुन्।

“विश्वव्यापी महामारीको स्रोत पहिचान गर्ने प्रयासलाई चीनले असफल र अस्पष्ट पार्ने प्रयास गरिरहेको छ,” रेले मङ्गलवार दिएको अन्तर्वार्तामा भने।

“र यो सबैको लागि दुर्भाग्यपूर्ण कुरा हो,” उनले भने।

केही अध्ययनहरूले कोरोनाभाइरस चीनको वुहानमा सम्भवतः समुद्री खाना र वन्यजन्तुको कारोबार हुने बजारबाट जनावरमार्फत मानिसमा सरेको हुनसक्ने सङ्केत गरेका छन्।

त्यो बजार विश्वको अग्रणी भाइरस प्रयोगशाला, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट ४० मिनेटको दूरीमा छ। उक्त प्रयोगशालाले कोरोनाभाइरसबारे अनुसन्धान गरेको थियो।

अन्य अमेरिकी सरकारी निकायहरूले भने एफबीआईको भन्दा फरक निचोडहरू निकालेका छन् जसमा भरोसा गर्न सकिने आधारहरू फरकफरक तहका छन्।

क्रिस्टोफर रे

तस्बिर स्रोत,GETTY IMAGES

अमेरिकी सञ्चारमाध्यमहरूमा आइतवार सार्वजनिक विवरणहरूमा अमेरिकी ऊर्जा विभागले कोभिड प्रयोगशालाबाट उत्पत्ति भएको भन्ने निष्कर्षमा “कम आत्मविश्वास” देखाएको थियो। पहिले यो भाइरस कसरी सुरु भयो भन्नेबारे विभागले कुनै निष्कर्ष ननिकालेको जनाएको थियो।

सोमवार, ह्वाइट हाउस न्याश्नल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड कसरी सुरु भयो भनेर पत्ता लगाउन “सरकारको सम्पूर्ण प्रयास”लाई समर्थन गर्ने बताएका थिए।

तर कसरी उत्पत्ति भएको हो भन्नेबारे अमेरिका अझै स्पष्ट नभएको उनले बताए।

“हामी अझै निष्कर्षमा पुगेका छैनौँ,” उनले भने। “यदि हामीसँग अमेरिकी जनता र कंग्रेसलाई जानकारी दिन केही तयार भयो भने हामी त्यो सार्वजनिक गर्नेछौँ।”

एफबीआई निर्देशक रेले सार्वजनिक गरेको विवरणमा चीनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

सन् २०२१ को अक्टोबरमा अमेरिकी शीर्ष गुप्तचर अधिकारीद्वारा जारी अवर्गीकृत एक विवरणमा चार अमेरिकी गुप्तचर निकायहरूले “कम आत्मविश्वास”का साथ सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट कोरोनाभाइरस उत्पन्न भएको विश्लेषण गरेका थिए।

महामारीको उत्कर्षमा रहेको महिनौँसम्म भाइरस प्रयोगशालाबाट चुहावट भएको परिकल्पनालाई षडयन्त्र सिद्धान्तको रूपमा व्यापक रूपमा खारेज गरिएको थियो। शीर्ष स्वास्थ्य अधिकारीहरूले सार्वजनिक रूपमै कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनुअघि प्रयोगशालामा सिर्जना गरिएको हुनसक्ने परिकल्पनामा असहमति जनाएका थिए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को अनुसन्धानले कोभिड प्रयोगशालाबाट चुहावट भएको हुनसक्ने कुरालाई “अति असम्भव”को सङ्ज्ञा दिएको थियो। तर, उक्त अनुसन्धानको व्यापक आलोचनापछि निकायका महानिर्देशकले नयाँ अनुसन्धानको लागि आह्वान गर्दै भनेका थिए: “यसबारे सबै परिकल्पनाहरू गर्न सकिन्छ र थप अध्ययन आवश्यक छ।”

कोभिड-१९ पहिलो पटक सन् २०१९ को अन्त्यमा देखा परेको थियो। यसको महामारीका कारण झन्डै ७० लाख मानिसको मृत्यु भएको छ। बिबिसी बाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x