१९औँ एसियाली खेलकुद आजदेखि सुरु, २५३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ।
प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाउ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाउ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट समेतको व्यवस्थापन गरिएको छ।
विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।
एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको यो पहिलो पटक हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।


