३१ श्रावण २०८३, आईतवार

विश्वकप टी-२० छनौट हुन नेपालले आज यूएईलाई हराए पुग्ने

एसीपी संवाददाता

१७ कार्तिक २०८०, शुक्रबार ०९:३७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेटमा आज नेपालले यूएईसँग सेमिफाइनल खेल्दैछ।

खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुँदैछ । नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको हो ।

विश्वकप एक दिवसीयकोसमेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ । नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो । यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो ।

अब फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न चाहन्छ । यसअघि नेपाललाई नै हराएर टी–२० विश्वकप खेलेको यूएईमाथि घरेलु मैदानमा बदला लिएर विश्वकप खेल्नेमा विश्वस्त देखिएको छ ।

जारी विश्वकप छनोटअघि भएको त्रिकोणात्मक टी–२० मैत्रिपूर्ण प्रतिस्पर्धाको फाइनलमा नेपाल पराजित भएको भए पनि नेपाली टिमले आजको गर या मरको खेलमा सशक्त प्रदर्शन गरी दोस्रो पटक विश्वकपमा छानिन कुनै कसर बाँकी नराख्ने मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेल बताउँछन् ।

नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो ।

नेपालको पछिल्लो ६ महिनाको मात्र नतिजालाई हेर्ने हो भने पनि यूएईले भन्दा निकै माथि फड्को मारिसकेको छ । यसले पनि घरेलु मैदान, आफ्नै दर्शक र टिमको बलियो क्षमताका कारण पनि नेपालको आजको परिणाम सकारात्मक आउने अपेक्षा गरिएको छ ।

अर्को सेमिफाइनलमा त्रिविविको मैदान कीर्तिपुरमा ओमान र बहराइन भिड्दै छन् । छनोटको फाइनलमा पुग्ने दुवै टिम विश्वकपमा पुग्नेछन् ।

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x