११ आश्विन २०८३, आईतवार

चीनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग

एसीपी संवाददाता

११ मंसिर २०८०, सोमबार ०८:५३ मा प्रकाशित

काठमाडौँ। चीनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न राष्ट्रिय एकता अभियान नेपालले माग गरेको छ। अभियानले आईतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

हालसालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेको विषय स्मरण गराउँदै यस्ता गैरकूटनीतिक अभिव्यक्ति दिने राजदूतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ।

भारतसँगको व्यापारमा घाटा भइरहेकाले नेपालले चीनसँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाई नितान्त गैरकूटनीतिक भएको भन्दै अभियानले राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो। यो एउटा कूटनीतिक शब्दावली हो। जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई ‘पर्सना नन ग्राटा’ घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर्छ ।

चीनियाँ राजदूतले केही दिनअघि नेपालले आफ्नो अर्थतन्त्रलाई कसरी विकास गर्ने भनेर चीनबाट सिक्नुपर्ने समेत बताएका थिए। ‘भारतसँगको उर्जा व्यापार सम्झौतालाई नेपाल सरकारले उल्लेखनीय उपलब्धि मानेको छ। र नेपाल-भारत विद्युत व्यापारको बिस्तार नेपालको घोषित नीति हो’ ज्ञापन पत्रमा भनिएको छ– ‘राजदूत छनको त्यो भनाइ नेपाल सरकारको नीतिको ठाडो विरोध मात्र होइन, सामान्य कूटनीतिक शिष्टाचारको उल्लङ्घन पनि हो।’

चिनियाँ राजदूतको भनाई नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनीय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेको बेला आएको यस्तो अभिव्यक्तिका विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिनु रहस्यमय भएको पनि ज्ञापन पत्रमा उल्लेख छ। राजदूत छनको भनाइले नेपाल र चीनबीचको सम्बन्ध बिग्रिएको भन्दै यसले नेपाललाई चीनसँग आर्थिक र अन्य विषयमा सहकार्य गर्न पनि गाह्रो भएको जनाईएको छ । 

‘तसर्थ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गरी चीन फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह गर्दछ । यसले चीनलाई नेपालले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप सहने छैन भन्ने सन्देश दिनेछ ।’ अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ। ज्ञापन पत्र बुझाउन अध्यक्ष यादव, वरिष्ठ नेता बिपी यादव, महासचिव डा. प्रभात कुशवाहा, महिला संयोजक रीता साह, मधेश सम्पर्क समिति काठमाडौंका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, युवा प्रमुख दिवस पटेल, धीरज गिरी, विद्यार्थी परिषदका महासचिव पप्पू यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, अभियन्ता गणेश कुमार सिंह लगायत मन्त्रालयमा पुगेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x