चिनियाँ लगानीको १० अर्ब सकिँदा पनि कोदारी सडकको अवस्था फेरिएन
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सन् २०१५ मार्चमा चीन भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले अरनिको राजमार्गअन्तर्गत कोदारी सडक स्तरोन्नतिका लागि १४ अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए । दुई मुलुकको राष्ट्रपतिस्तरको समझदारी कार्यान्वयन तहमा तुरुन्तै आयो पनि।
२५ अप्रिल २०१५ को विनाशकारी भूकम्पपछि तातोपानी नाका भएर चिनियाँ जनमुक्ति सेना सदरमुकाम चौतारा आएका थिए । केही महिना उनीहरूले सडक मर्मतमा सहायता दिए ।
भूकम्पले लथालिंग पारेको कोदारी सडक पुनर्निर्माणमा ०७३ देखि हालसम्म चिनियाँ ठेकेदार कम्पनी चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले काम गरिरहेको छ । एक चरणको काम सक्दा–नसक्दै १७ साउन ०७३ मा भोटेकोसी नदीमा बाढी आयो।
बाढीपहिरोले कोदारी सडक पुनः लथालिंग भयो । यो सडकलाई सिआरसिसीले तीन चरणमा काम गरिसकेको छ । तर, सडकको स्तरोन्नतिको अवस्थामा कुनै प्रगति छैन । सिआरसिसीको अलावा सडक डिभिजन चरिकोटले पनि वेलावेलामा सडक मर्मत गर्छ । यी सबै प्रयास बालुवामा पानी खन्याएझैँ भएको छ ।
गत सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डको आठ दिन लामो चीन भ्रमणको क्रममा पनि अरनिको राजमार्ग स्तरोन्नतिको विषय राखिएको छ । जसमा चीन सरकारले चौथो चरणको स्तरोन्नति भनेर समझदारीमा समावेश गरेको छ । ‘चीन नेपालको असल मित्रराष्ट्र हो । उसले गर्ने हरेक विकासबाट हामीले सिक्नुपर्छ । तर, विकासका काम गर्दा पारदर्शिता भएन भने नेपाल–चीनबीच अनावश्यक असमझदारी बढ्न सक्छ,’ सिन्धुपाल्चोक क्षेत्र नंं. १ का सांसद माधव सापकोटाले भने । चौथो चरणको काम गर्दा सरोकारवाला सबैले ध्यान दिनुपर्ने उनले प्रस्ट्याए ।
अरनिको राजमार्ग स्तरोन्नतिका लागि भनेर आएको १४ अर्बमध्ये १० अर्ब रकम सकिएको भन्ने छ । यद्यपि, सडकको अवस्थामा कुनै सुधार छैन । ‘भौगोलिक अवस्थाले सडकको काम भनेजस्तो भएन,’ नेपाली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका तातोपानीका स्थानीय दोर्जे लामाले भने ।
चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले नेपालको अर्थ मन्त्रालयसँग सम्झौता गरेर कामको थालनी गरेको हो। अर्थ मन्त्रालयको वैदेशिक समन्वय महाशाखा र भौतिक योजना मन्त्रालयको सडक विभागले सडक स्तरोन्नतिको काम हेर्छ। तीन चरणसम्म भएका कामको सबै प्रगति विवरण ठेकेदार कम्पनी सिआरसिसी, वैदेशिक समन्वय महाशाखा र सडक विभागसँग छ । तर, सडकको अवस्था फेरिएको छैन । नयाँपत्रीका