थमन विक प्रकरण : आन्दोलनकारीलाई जन्मकैदको फैसला गरेकोमा जनमतको आपत्ति
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका प्रदेश सभा सदस्य अभिराम शर्मा लगायतमाथि महोत्तरी जिल्ला अदालतले गरेको जन्मकैदको फैसलाप्रति आपत्ति जनाएको छ । जनमत पार्टीको प्रवक्ता डा.शरतसिंह यादवले आज विज्ञप्ति जारी आपत्ति जनाएका हुन् । महोत्तरी जिल्ला अदालतको मंसिर २८ गतेको फैसलाले मधेस आन्दोलन तथा किसान आन्दोलन लगायत अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनको मर्म तथा भावना माथि कुठाराघात गरेको ठहर गर्दै जनमत पार्टीले सशस्त्र जनयुद्धमा भएका घटनामध्ये कतिपय मुद्दामा हालसम्म पीडितले न्याय नपाएको तर मधेसी आदिवासी जनजाति थारु मुस्लिमले गरेको आन्दोलनमा भएको घटनामा अदालतले फैसला दिनु भनेको सीमान्तकृत जनता माथिको विभेद रहेको उल्लेख गरेको छ । मधेस तथा किसान आन्दोलनलगायत अधिकार प्राप्ति आन्दोलनमा लगाइएका सबै झुटा मुद्दाहरू अविलम्ब फिर्ता लिन जनमतले माग गरेको छ ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । रातोपाटि



