महिला उद्यमीले गर्न लागेको प्रदर्शनी मेलाको तयारी तीव्र
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको तयारी तीव्र पारिएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुका उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न र उद्यमताको विकास गराउन मेलाको आयोजना गर्ने गरेको छ । महिला उद्यमीहरुको प्रोत्साहनको लागि महिला उद्यमीहरुले गर्न लागेको प्रदेश स्तरीय प्रदर्शनी मेला यसपटक पुष २४ गतेदेखि नेपालगञ्जमा हुँदैछ ।
नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरको पार्कमा हुन लागेको प्रदर्शनी मेलालाई भव्यरुपमा आयोजना गर्न विभिन्न उप–समिति गठन गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष साबित्रा बस्नेतले बताइन् । उनले भनिन्,‘हामी तयारीमा जुटिरहेका छौं । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा महिलाहरुले उत्पादन गरेका वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ । त्यसलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर काम गरिरहेका छौं । सबैले आ–आफनो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ ।’
संघको बैठकले महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहलाई प्रदर्शनी मेला संयोजकको जिम्मेवारी दिएको छ । यसैगरी बैठकले वविता मैनालीको संयोजकत्वमा स्वागत सत्कार तथा आवास उप–समिति गठन गरिएको छ । समितिको सदस्यमा सुशिला राणा, सुनिला बराल र गीता प्रसाईं रहेकी छिन् । नितु चन्द शाहको संयोजकत्वमा स्टल व्यवस्थापन उप–समिति, सरिता शाक्यको संयोजकत्वमा सचिवालय तथा सञ्चार उप–समिति गठन गरिएको छ । जसको सदस्यमा आभा गौतम रहेकी छिन् । शशी स्वाँरको संयोजकत्वमा आर्थिक उप–समिति, संघको पूर्व अध्यक्ष सरस्वती शर्माको संयोजकत्वमा जिल्ला समन्वय समिति, अञ्जु गुरुङको अध्यक्षतामा मञ्च व्यवस्थापन उप–समिति गठन गरिएको छ । जसको सदस्यमा सुष्मा सुवेदी र कमला टण्डन रहेकी छिन् ।
प्रदर्शनी मेला संयोजक सिंहले बाँकी रहेका अन्य उप–समितिहरु विस्तार गर्दै काम गरिरहेको बताइन् । उनले भनिन्,‘केही उप–समितिहरु गठन गर्न बाँकी छ । कार्यसमितिको बैठकले आवश्यकता अनुसार क्रमशः अन्य उप–समितिहरु गठन गर्दै जानेछ ।’
महिला उद्यमी संघ नेपाल बाँकेले एक दशक अघिदेखि महिलाहरुलाई उद्यममा प्रोत्साहन गर्नको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । जस अन्तर्गत संघले हरेक वर्ष महिलाहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी मेला गर्ने गरेको छ । जहाँ हरेक वर्ष विभिन्न उत्पादन र वस्तुहरुको बिक्री वितरण गर्ने गरिएको छ ।
महिलाहरुले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, अन्य सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाले महत्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले बताइन् ।


