कांग्रेसले गृहमन्त्री रविमाथि संसदीय छानबिनको अडान लिएपछि सभामुखले बोलाए शीर्ष नेताहरूलाई
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग नै दोहोर्याउने भएपछि तरंग पैदा भएको छ।
२८ वैशाखबाट बजेट अधिवेशन आह्वान भएपनि कांग्रेसले अडान कायम राखेपछि सभामुख देवराज घिमिरे चेपुवामा परेका छन्। रवि सहकारी ठगीमा संलग्न रहेकाले छानबिन हुनुपर्ने कांग्रेसको माग छ।
यही गाठो फुकाउन सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए। सहमति प्रयास सार्थक हुन सकेको थिएन । अहिले पनि अवस्था दोहोरिएको छ।



