११ असार २०८३, बिहीबार

प्रधान सेनापति सिग्देल भारत प्रस्थान, भारतीय राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने

एसीपी संवाददाता

२७ मंसिर २०८१, बिहीबार १०:२३ मा प्रकाशित

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्।

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंगलबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रधानसेनापतिले मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति सिग्देलसँग पत्नी नीता क्षेत्री सिग्देलसहित ९ सदस्य टोली भ्रमण दलमा छन्।

प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच सम्मान गारत अर्पण गरिएको थियो।

प्रधान सेनापतिमा नियुक्त भए पश्चात उनले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन्।

भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मंसिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधान सेनापति सिग्देल भारतीय सेनाको एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम समेत तय भएको छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।

प्रधान सेनापति सहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यसअघि भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाल भ्रमण गरेका थिए। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x