नेपालगन्जका मुस्लिम समुदायका महिलाहरु प्रजनन स्वास्थ्य बारे सचेत बन्दै
नेपालगन्जका मुस्लिम समुदायका महिलाहरुले प्रजनन स्वास्थ्य सम्वन्धी जानकारी पाएका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का नाज कुरैसीले अबका दिनमा प्रजनन स्वास्थ्यमा ध्यान नदिदा पर्ने असरबाट बच्न सकिने भन्दै खुसी ब्यक्त गर्नुभएको छ । यस्तै अर्का स्थानिय सानिया असरफियाले यसअघि आफूलाई परेको स्वास्थ्य समस्या बारे भन्न लजाउने गरेपनि अब खुलेर बोल्न सकिने बताउनुभयो । उहाँले अब घरपरिवार र साथीहरुलाई पनि प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन सक्ने बताउनुभयो । आफुलाई यसअघि प्रजनन समस्या देखापरे पनि खुलेर कुरा गर्न लजाउने गरेको बताउनुभयो ।
आज मंगलबार नेपालगन्जमा प्रजनन स्वास्थ्यका बिषयमा तालिम समापन कार्यक्रममा मुस्लिम समुदायका महिलाहरुले आगामी दिनमा पनि यस्तो तालिमको आवश्यकता महसुस गरेको बताएका छन । अब प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न सक्ने उनिहिरुको भनाई रहेको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्यबारे सचेत बनाउने उदेश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग ,जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा तालिम गरीएको हो । तालिममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का १९ देखी ४० बर्ष उमेर समुहका ३० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।
प्रजनन स्वास्थ्यबारे सबै महिलाहरु सचेत बन्नुपर्ने भएकाले यसको आवश्यकता महसुस गरेर तालिम संचालन गरीएको सांसद श्रेष्ठले बताउनुभयो ।यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुन आवश्यक रहेको बताउनुभयो । अधिकारकर्मी रचना श्रेष्ठले प्रजनन स्वास्यका बारेमा जानकारी लिएमा स्वस्थ जिवनशैली हुने भएकाले यस्तो तालिमको धेरै महत्व भएको बताउनुभयो । तालिमको सहजिकरण स्वास्थ्य कार्यालय बाँकेका मलेरीया इन्सपेक्टर निरीक्षक दुर्गा गौतम ,पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनालले गर्नुभएको थियो ।




