१४ भाद्र २०८३, आईतवार

एसीपी संवाददाता

२४ श्रावण २०८२, शुक्रबार १०:४० मा प्रकाशित

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत भन्सार महशुल थोपरेपछि मोदीको पूर्वनिर्धारित चीन भ्रमणबारे समाचार सार्वजनिक भएको हो । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार मोदीले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीन भ्रमण गर्न लागेका हुन् ।

चीनको तियानजिन शहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन मोदी त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ । सात वर्षपछि मोदीले चीन भ्रमण गर्न लागेका हुन् । सन् २०२० मा गलवान क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको झडपपछि पहिलो पटक चीन जान लागेका मोदीको यो भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । उनको यो भ्रमणलाई एशियाका दुई शक्तिशाली मुलुकहरुबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

पछिल्ला केही वर्षयता अमेरिकासँगको सम्बन्धलाई बलियो बनाउँदै आएको भारलाई ट्रम्पको व्यापार नीतिले नयाँ रणनीति अपनाउन बाध्य पारेको छ । यस्तो अवस्थामा चीनसँगको सम्बन्ध सुधारले भारतलाई वैकल्पिक व्यापारिक साझेदार र क्षेत्रीय सन्तुलन कायम गर्न सहयोग गर्न सक्छ । तर, दुई देशबीच अझै पनि अविश्वास कायम छ भने सम्बन्ध सुधार्न अझै ठूला चुनौती बाँकी नै रहेको जनकारहरु बताउँछन् ।

यो भ्रमणलाई चीनसँगको द्विपक्षीय सम्बन्धका साथै विश्व भूराजनीतिमा भारतको रणनीतिक भूमिका र अमेरिकाले बढाइरहेको दबाबसँग जोडेर हेरिएको छ । २० औँ शताब्दीको मध्यतिर झण्डै एक साथ दुवै मुलुकमा नयाँ व्यवस्था बहाल भएको थियो । सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेको थियो भने सन् १९४९ मा चीनमा साम्यवादी क्रान्ति सम्पन्न भएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा बारम्बार उतारचढाव आइरहेको छ ।

सन् १९६२ को युद्धदेखि लिएर हालैका वर्षहरुमा लद्दाख, अरुणाचल प्रदेश र भुटानको डोक्लम क्षेत्रमा देखिएको तनावका कारण दुई मुलुकबीच अझै पनि अविश्वास कायम नै रहेको जानकारहरु बताउँछन् । खासगरी, सन् २०२० मा गलवान क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपले भारत र चीनबीचको सम्बन्धलाई दशकौँयताको सबैभन्दा न्यून विन्दुमा ल्याइदिएको थियो । उक्त घटनामा २० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । आफ्नो पक्षतर्फ भएको हताहतीबारे चीनले भने केही खुलाएको छैन ।

यस घटनापछि भारत र चीनबीच कूटनीतिक र व्यापारिक सम्बन्धमा धक्का लाग्यो । भारतले कतिपय चिनियाँ सामान र मोबाइल एपमाथि प्रतिबन्ध लगायो भने चिनियाँ लगानीमा पनि कडाइ गर्‍यो । त्यसयता भारत र चीन दुबै मुलुकले सीमा क्षेत्रमा सैन्य उपस्थितीलाई पनि बढाएका छन् । यद्यपि पछिल्लो समय भने भारत र चीन दुबै मुलुकले सम्बन्ध सुधारको पहल अघि बढाएका छन् ।

गत वर्षको अक्टोबरमा रूसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटले सम्बन्ध सुधारको बाटो खोलेको थियो । यो भेटमा दुवै नेताले सीमा क्षेत्रमा तनाव कम गर्न र सम्बन्धलाई सामान्य बनाउन सहमत भएका थिए । उक्त भेटमा दुई नेताबीच विवादित सीमा क्षेत्रबाट दुबै मुलुकका सुरक्षाकर्मीलाई पछि हट्न लगाउने प्रक्रिया थाल्नेबारे सहमति भएको थियो ।

यद्यपि वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने सीमा क्षेत्रका विषयमा अझै पनि दुई देशबीच पूर्ण विश्वासको वातावरण बन्न नसकेको जनाइएको छ । हाल भारत र चीनले कैलाश–मानसरोवर यात्रा पुनः सुरु गरेका छन् । त्यसैगरी, यसै वर्षको जनवरी महिनामा दुई देशबीच प्रत्यक्ष हवाई उडान सुचारु गर्ने सहमति जनाएका छन् । यसबाट दुई देश व्यापार, पर्यटन, र जनस्तरको सम्पर्कलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, र विदेशमन्त्री एस. जयशङ्करले पनि चीनको भ्रमण गरेर कूटनीतिक संवादलाई अघि बढाएका थिए । मोदीको चीन भ्रमणअघि चिनियाँ विदेशमन्त्री भारत आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार द प्रिन्टका अनुसार वाङले आगामी अगस्ट १८ का दिन भारत भ्रमण गर्ने सम्भावना रहेको छ । वाङको भारत भ्रमणसँगै मोदीको चीन भ्रमणका एजेन्डाले अन्तिम रुप पाउने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x