पाकिस्तान अफगानिस्तान युद्ध अब शान्तिवार्ता होला
पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा मङ्गलबार रातिदेखि सुरु भएको नयाँ भिडन्तमा दर्जनौँ सैनिक र सर्वसाधारण मारिएका छन्। दुवै देशका सुरक्षा अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
एएफपी र रोयटर्सका अनुसार, अफगानिस्तानको कन्धार प्रान्तस्थित स्पिन बोल्दक क्षेत्रमा अफगान तालिबानले पाकिस्तानी सशस्त्र चौकीहरूमा आक्रमण गरेपछि भीषण गोलीबारी भएको हो। पाकिस्तान सेनाले बुधबार बिहान दक्षिण–पश्चिम र उत्तर–पश्चिम सीमामा भएका दुई ठूला आक्रमणहरू परास्त गरिएको दाबी गर्दै कम्तीमा २० तालिबान लडाकू मारिएको जनाएको छ।
पाकिस्तानी सेनाले विज्ञप्तिमा भनेको छ, “आक्रमण क्षेत्रका विभाजित गाउँहरू हुँदै गरिएको थियो, जसमा स्थानीय सर्वसाधारणको सुरक्षाप्रति कुनै ध्यान दिइएन।” सेनाका अनुसार उत्तर–पश्चिमी सीमामा रातभर चलेको भिडन्तमा थप ३० जनाको ज्यान गएको आशंका छ।
अफगान अधिकारीहरूले भने ताजा झडपमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु र दर्जनौँ घाइते भएको पुष्टि गरेका छन्। कन्धारको स्पिन बोल्दक क्षेत्रमा मोर्टार प्रहारका कारण ती सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अली मोहम्मद हक्मलले एएफपीलाई बताए।
त्यस्तै, रोयटर्सका अनुसार पाकिस्तानको ओरकजाइ जिल्लामा भएको भिडन्तमा ६ जना पाकिस्तानी अर्धसैनिक बलका सदस्य मारिएका र अन्य घाइते भएका छन्।
अफगान तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पाकिस्तानमाथि “पुनः हल्का र भारी हतियार प्रयोग गरेर हमला गरेको” आरोप लगाएका छन्। उनले दाबी गरेका छन् कि अफगान सेनाले केही पाकिस्तानी चौकी कब्जा गरेर हतियार र ट्याङ्क जफत गरेको छ।
यो घटना गत साताको भीषण झडपपछि आएको हो, जब अफगान सेनाले काबुलमाथि भएको हवाई आक्रमणको जवाफी रूपमा पाकिस्तानका सैनिक चौकीहरूमा प्रहार गरेको थियो। अफगान पक्षले सो आक्रमणमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको थियो, भने पाकिस्तानले २३ जनाको मृत्यु भएको तर जवाफी कारबाहीमा २०० भन्दा बढी तालिबान लडाकू मारिएको जनाएको थियो।
आफूहरू माथि “अप्रत्याशित आक्रमण” भएपछि पाकिस्तानले पूर्ण बलका साथ प्रत्युत्तर दिएको बताइएको छ। पाकिस्तान टेलिभिजन (पीटीभी) का अनुसार उक्त प्रत्याक्रमणमा पाकिस्तानी तालिबान (टीटीपी) का एक वरिष्ठ कमाण्डरको पनि मृत्यु भएको छ।
अत्यधिक तनावपछि आइतबार दुवै देशबीचको सीमा नाका बन्द गरिएको थियो। तर, कतार र साउदी अरेबियाको मध्यस्थतापछि मङ्गलबार साँझ गोलीबारी रोकिएको खबर आएको छ।
स्पिन बोल्दक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बराकका अनुसार, हालसम्म ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका छन्।
यो ताजा भिडन्तले पाकिस्तान–अफगानिस्तानबीच बढ्दो तनाव र आपसी आरोप–प्रत्यारोप फेरि चर्किएको देखाएको छ।



