१२ भाद्र २०८३, शुक्रबार

हुम्लामा चिनियाँ सुरक्षाकर्मीहरूको सक्रियता र निगरानी किन बढदै

एसीपी संवाददाता

१३ कार्तिक २०८२, बुधबार ०६:२७ मा प्रकाशित

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चा क्षेत्रमा पछिल्लो समय चिनियाँ सुरक्षाकर्मीहरूको सक्रियता र निगरानी बढेको पुष्टि भएको छ। स्थानीय बासिन्दा र तीर्थयात्रीहरूका अनुसार, चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली भूमिमै प्रवेश गरी माइकिङ गर्दै आवतजावतमा अवरोध गर्न थालेको समाचार अनलाइन खबरले प्रकाशित गरेको छ।

गत असोज ११ गते सिमकोटबाट मानसरोवर–कैलाश दर्शनका लागि गएका करिब २०–२२ जना तीर्थयात्रीलाई चिनियाँ सुरक्षाकर्मीहरूले अघि बढ्न रोकेका थिए। उनीहरू सिमकोटदेखि बोलेरो गाडीमा लिमी लाप्चा पुगेका थिए, तर चिनियाँ पक्षले नेपाली भू–भागमै माइकिङ गरेर फिर्ता जान निर्देशन दिएको गुनासो तीर्थयात्रीहरूले गरेका छन्।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली भूमि भित्रै चिनियाँ अवरोध कूटनीतिक स्तरबाट समाधान गर्नुपर्ने बताएका छन्। त्यस्तै, हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले पनि सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिएको पुष्टि गर्दै, सीमा अस्पष्ट भएकाले समस्या बढेको बताए।

रेग्मीका अनुसार, भारतका आध्यात्मिक गुरु सदगुरु जग्गी वासुदेव समेत मानसरोवर दर्शनका लागि सो क्षेत्रमा पुगेपछि चहलपहल बढेको र त्यसकै असरमा चिनियाँ गतिविधि तीव्र भएको हुनसक्ने अनुमान गरिएको छ। उनले यस विषयमा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी पठाइएको समेत बताए।

लिमी लाप्चा क्षेत्र नेपाल–चीन सीमामा पर्न आएको अस्पष्ट सीमांकन क्षेत्र हो, जहाँबाट कैलाश–मानसरोवर स्पष्ट रूपमा देखिन्छ। नेपाल र चीनबीच सन् १९६० को सम्झौता र १९६३ को सीमा प्रोटोकलपछि पनि सो क्षेत्रको सटीक सीमांकन अस्पष्ट नै छ। विगतका सन्धि–सम्झौताअनुसार कसैले सीमाना उल्लङ्घन नगर्ने सहमति भए पनि पछिल्ला वर्षहरूमा चिनियाँ पक्षले धार्मिक तीर्थयात्रामा समेत अवरोध गर्न थालेको स्थानीयहरूले बताएका छन्।

प्रशासनका अनुसार, सो क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु गर्ने तयारी भइरहेको छ। सशस्त्र प्रहरीले चिनियाँ पक्षसँग समन्वय थालेको र चिनियाँ पक्षबाट पनि सकारात्मक संकेत आएको बताइएको छ।

यो घटनाले पुनः एकपटक नेपाल–चीन सीमाको अस्पष्टता, भू–सार्वभौमिकता र स्थानीयको पहुँच अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ। हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x