२ मंसिर २०८३, मंगलवार

कम्युनिस्ट गढ किन भत्कियो

एसीपी संवाददाता

२९ फाल्गुन २०८२, शुक्रबार १०:०४ मा प्रकाशित

कम्युनिस्ट नेताहरूको बलियो प्रभाव रहेको प्यूठानमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले झन्डै तीन दशकदेखि कायम वामपन्थी वर्चस्व तोड्दै ऐतिहासिक जित हासिल गरेका हुन्।

प्यूठान नगरपालिका–१ खैरामा २०५१ जेठ १८ गते जन्मेका वैदिकको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक क्षेत्रसँग जोडिएको छ। उनका बुबा पदमप्रसाद वैदिक २०७३ कात्तिक १९ मा न्याय परिषद सदस्य नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी थिइन्। उनले तीन वर्षपछि २०७६ मंसिर १८ मा पदबाट राजीनामा दिएका थिए।

वैदिकले आफ्नो प्रारम्भिक शिक्षा तुलसीपुरस्थित राप्ती बोर्डिङ स्कुलबाट सुरु गरेका थिए। उनले २०६५ मा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको तीनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजबाट व्यवस्थापन संकायमा प्लस–टू पूरा गरे। त्यसपछि उनी उच्च शिक्षाका लागि मलेसिया पुगेका थिए। क्वालालाम्पुरस्थित हेल्प युनिभर्सिटीबाट उनले अर्थशास्त्रमा स्नातक गरे भने नर्वेबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए।

नेपाल फर्किएपछि वैदिक नीति तथा अर्थतन्त्रसम्बन्धी क्षेत्रमा सक्रिय भएका थिए। २०७९ को निर्वाचनपछि लुम्बिनी प्रदेशमा बनेको कांग्रेस–माओवादी गठबन्धन सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनलाई आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए। वैदिकका अनुसार देश निर्माणमा योगदान गर्न आग्रह भएपछि आफूले उक्त जिम्मेवारी स्वीकार गरेका थिए।

लुम्बिनी प्रदेश सरकारमा रहँदा उनले बजेट निर्माण, आर्थिक सुधार, रणनीतिक योजना र विकास कार्यक्रमको अवधारणा तयार पार्ने काममा भूमिका खेले। पछि राजनीतिक समीकरण परिवर्तनसँगै उनले प्रदेश सरकार छाड्नुपरेको थियो।

प्रदेश सरकारबाट बाहिरिएपछि वैदिक काठमाडौं फर्किए र धुम्बाराहीमा ‘काठमाडौं रिसर्च इकोनोमिक्स प्रालि’ स्थापना गरे। उक्त संस्थामार्फत उनले अर्थशास्त्र तथा राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई अनुसन्धान तथा समन्वयमा सहयोग गर्दै आएका छन्।

यसबीच उनी युवा पुस्तामा चर्चित ‘जेनजी आन्दोलन’ मा पनि सक्रिय भए। भदौ २३ र २४ मा भएको उक्त आन्दोलनले मुलुकको राजनीतिमा ठूलो हलचल ल्याएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकार र राजनीतिक परिवर्तनसँगै वैदिकको राजनीतिक सक्रियता पनि बढ्दै गएको थियो।

जेनजी आन्दोलनकै क्रममा उनको काठमाडौंका तत्कालीन मेयर बालेन शाहसँग चिनजान भएको थियो। पछि उनी रास्वपामा आबद्ध हुँदै पार्टीको केन्द्रीय सदस्य बने। जेनजी आन्दोलनका मुद्दाहरूलाई रास्वपाले आत्मसात गरेको विश्वासका आधारमा आफू पार्टीमा जोडिएको उनले बताएका छन्।

निर्वाचन परिणामअनुसार वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाए भने एमालेका सूर्य थापाले १६ हजार ७१० मत प्राप्त गरेका थिए।

प्यूठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका थिए। तीमध्ये ८४ हजार ४३३ मत खसेको थियो। निर्वाचनमा प्रतिस्पर्धा गरेका १४ उम्मेदवारमध्ये ९ जनाको जमानत जफत भएको निर्वाचन परिणामले देखाएको छ। समानुपातिकतर्फ पनि प्यूठानमा रास्वपाले सबैभन्दा बढी ३० हजार ७५२ मत प्राप्त गरेको थियो।

सांसद निर्वाचित भएपछि वैदिकले आफ्नो प्राथमिकता नीति निर्माण र दीर्घकालीन प्रणाली विकासमा केन्द्रित रहने बताएका छन्। पुल वा सडकमा आफ्नो नाम लेखाउनेभन्दा प्रणाली सुधारमार्फत दीर्घकालीन विकास गर्ने उनको भनाइ छ।

उनले प्यूठान जिल्ला अस्पताललाई कम्तीमा २०–२२ शैय्याको विशेषज्ञ सेवासहितको अस्पताल बनाउने योजना अघि बढाउने बताएका छन्। साथै जिल्लामा प्राविधिक शिक्षा पढाइ हुने आंगिक क्याम्पस स्थापना गर्ने, खानेपानी क्षेत्रमा सुधार ल्याउने तथा स्वर्गद्वारी मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उनले बताएका छन्। हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x