सरकार गठन भएको एक महिना नबित्दै दुई मन्त्री किन भए फेल ?
दुई तिहाइ नजिकको बहुमतसहित सरकार गठन भएको एक महिना पुगेको छैन । अर्थात बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बनेको सरकारले महिनादिन नपुग्दै विवादका कारण दुई मन्त्रीले राजीनामा गर्नु परेको छ ।
निष्क्रिय रहेको बीमा संस्थामा श्रीमतीलाई सक्रिय बनाउन भूमिका खेलेको आरोपमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका दीपक साहलाई पार्टीको सिफारिसमा प्रधानमन्त्री बालेनले बर्खास्त गरे ।
रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्रीले श्रम मन्त्री साहलाई नियुक्ति भएको १४ दिनपछि पदमुक्त गरेका थिए ।
रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
त्यसपछि प्रधानमन्त्री बालेनले आफूसँगै राखेको उद्योग तथा वाणिज्य मन्त्री र साहलाई बर्खास्त गरेपछि खाली रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दुई जना नियुक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई चैत २७ गते नियुक्त गर्दै पद तथा गोपनियताको शपथ खुवाएर त्यही दिनदेखि कार्यभार दिइएको थियो ।
आज वैशाख ९ गते बुधबार फेरि अर्का सक्रिय मन्त्रीले राजीनामा दिएका छन् । गृह जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा रहेका सुधन गुरुङले राजीनामा दिएका छन् ।
गुरुङले फेसबुकमा लामो स्टाटस लेख्दै गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको, पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयरलगायतका विषयमा प्रश्न, टिप्पणी र जनचासो भएपछि आफूले गम्भीरताका साथ लिँदै यस विषयमा छानविन गर्न आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले दिएको सन्देश अनुसार सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ, सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो भन्ने उल्लेख गर्दै छानविनमा कुनै प्रभाव नपरोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।नागरिक



