नेपालको बाढीबाट उद्धार गरिएका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, नेपाली सेनाको मानवीय कार्यको प्रशंसा
दिनेश ठाकुर नेपालगन्ज, भदौ १३ गते — नेपालमा आएको बाढीका कारण संकटमा परेका २१ जना भारतीय तीर्थयात्रीलाई सकुशल उद्धार गरी अन्ततः भारत फर्काइएको छ। बाढीका कारण नेपालमा अलपत्र परेका तीर्थयात्रीहरू सुरक्षित रूपमा स्वदेश पुगेपछि भारतीय पक्षले नेपाली सेना तथा नेपाल सरकारप्रति विशेष आभार व्यक्त गरेको छ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले तमिलनाडुका ती नागरिकहरूलाई स्वागत गर्दै उनीहरूले नेपालमा भोगेको त्रासदीपूर्ण अनुभवबारे जानकारी लिएका छन्। तीर्थयात्रीहरूले विपद्का बीच आफूहरूले भोग्नुपरेको कठिन अवस्था सुनाउँदा आफू भावुक बनेको जयशंकरले बताएका छन्।
संकटको समयमा भारतीय नागरिकहरूको उद्धारका लागि साहस र तत्परताका साथ खटिएको भन्दै उनले नेपाली सेना र नेपाल सरकारलाई विशेष धन्यवाद दिएका छन्।
बाढी तथा विपद्का बेला नेपाली सेनाले देखाएको उद्धार, सहयोग र मानवीय व्यवहारले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको बताइएको छ। भारतीय नागरिकहरूको सकुशल उद्धारपछि नेपाली सेनाको मानवीय कार्यको दुवै देशमा प्रशंसा भइरहेको छ।
विपद्का समयमा राष्ट्रिय सीमाभन्दा माथि उठेर मानव जीवनको रक्षा गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म भएको सन्देशसमेत यस घटनाले दिएको छ।


