२२ कार्तिक २०८३, शनिबार

नेपालगञ्जको ट्राफिक र सुरक्षा व्यवस्था तत्काल सुधार्न प्रदेशसभा सदस्य काफ्लेको माग चाडपर्वमा नागरिकले सास्ती खेप्नुपरेको भन्दै आवश्यक जनशक्ति परिचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार २३:२४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक २१ गते — चाडपर्वको समयमा बाँकेको नेपालगञ्जमा ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाको अवस्था कमजोर बनेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले तत्काल आवश्यक जनशक्ति परिचालन गरी व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहनुभएकी प्रदेशसभा सदस्य काफ्लेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तिहारजस्तो महत्वपूर्ण चाडपर्वमा समेत सर्वसाधारणले आवागमन र सुरक्षासम्बन्धी समस्या भोग्नुपरेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो।

उहाँले नेपालगञ्जका प्रमुख चोक तथा व्यस्त सडकहरूमा ट्राफिक प्रहरी, नगर प्रहरी र अन्य सुरक्षा निकायको पर्याप्त उपस्थिति नहुँदा नागरिकलाई आवतजावतमा कठिनाइ भइरहेको उल्लेख गर्नुभएको छ। चाडपर्वलाई लक्षित गरी बाँके जिल्लामा आयोजित उच्चस्तरीय बैठकले शान्ति सुरक्षा कायम गर्ने, ट्राफिक व्यवस्थापन चुस्त बनाउने, बजार अनुगमन गर्ने तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा विभिन्न निर्णय गरेको भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको काफ्लेले बताउनुभएको छ।

“अहिले देखिएका समस्या समाधान गर्नुपर्ने उचित समय यही हो। आवश्यक जनशक्ति तत्काल परिचालन गरी ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले ढिलाइ गर्नुहुँदैन,” उहाँले जोड दिनुभएको छ।

प्रदेशसभा सदस्य काफ्लेले आफूले उठाएको विषय कुनै व्यक्तिगत स्वार्थसँग सम्बन्धित नभई नेपालगञ्जसहित समग्र बाँकेवासी नागरिकको जनचासो र दैनिक जीवनसँग जोडिएको स्पष्ट पार्नुभएको छ। चाडपर्वका बेला नागरिकले सुरक्षित र सहज रूपमा आवतजावत गर्न पाउने वातावरण निर्माण गर्नु राज्यका सम्बन्धित निकायको प्रमुख दायित्व भएको उहाँको भनाइ छ।

उहाँले जिल्लास्तरीय बैठकबाट गरिएका निर्णयलाई कागजमा मात्र सीमित नराखी तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत आग्रह गर्नुभएको छ।

नेपालगञ्जमा चाडपर्वका बेला बढ्ने सवारी चाप, बजारको भीडभाड र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रमुख चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उहाँको माग छ।नागरिकका समस्या र जनचासोका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएकी प्रदेशसभा सदस्य काफ्लेले यसपटक पनि ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायलाई तत्काल जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x