नेपालगन्जका युवासँग ‘बुलडोजर बाबा’को निर्वाचन केन्द्रित अन्तर्क्रिया, विकास र रोजगारी मुख्य एजेन्डा
दिनेश ठाकुर नेपालगन्ज, २२ कात्तिक — आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमत पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष ‘बुलडोजर बाबा’ र नेपालगन्जका युवाबीच निर्वाचन केन्द्रित वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको समग्र विकास, युवा सहभागिता, रोजगारी सिर्जना र स्थानीय तहको नेतृत्वका विषयमा केन्द्रित कार्यक्रममा युवाहरूले आफ्ना जिज्ञासा, सुझाव तथा अपेक्षाहरू खुलेर राखेका थिए।
कार्यक्रममा सहभागी युवाहरूले नेपालगन्जको विकासको गति, बढ्दो बेरोजगारी, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना, शिक्षा, स्वास्थ्य, सुशासन तथा स्थानीय तहमा युवा नेतृत्वको आवश्यकताबारे विभिन्न प्रश्न उठाएका थिए।युवाहरूले उठाएका सवालको जवाफ दिँदै केन्द्रीय संरक्षक शेषले युवाहरूको भावना, आवश्यकता र सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले नेपालगन्जको विकास र समृद्धिका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै युवा पुस्ताको सोच, ऊर्जा र क्षमतालाई सही दिशामा उपयोग गर्नुपर्नेमा जोड दिए।
‘नेपालगन्जको विकास र परिवर्तनका लागि युवाहरूको भूमिका महत्वपूर्ण छ। युवाका समस्या, आवश्यकता र सुझावलाई बेवास्ता गरेर समृद्ध नगर निर्माण गर्न सकिँदैन। युवाहरूको सहभागिता र सहकार्यबाटै स्थानीय तहमा सकारात्मक परिवर्तन सम्भव छ,’ उनले भने।
आयोजकका अनुसार निर्वाचनअघि युवाहरूसँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या पहिचान गर्ने, विकासका सम्भावना खोज्ने र आगामी राजनीतिक योजनाबारे सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा सहभागी युवाहरूले राष्ट्रिय जनमत पार्टी र पार्टीको चुनाव चिह्न ‘बुलडोजर’प्रति ऐक्यबद्धता जनाउँदै ‘राष्ट्रिय जनमत पार्टी जिन्दावाद’ र ‘बुलडोजर छाप जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
कार्यक्रममा पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ ‘बुलडोजर बाबा’, सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य गफुर खाँ, महिला नेतृ तथा केन्द्रीय सदस्य नसिमुन जहाँ शेषलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला नेताहरू सहाबुद्दीन हलवाई, साहिद हलवाई, अरुण सिंह, ओमकार सिंह, रामनाथ मण्डललगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमले राजनीतिक नेतृत्व र युवा पुस्ताबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नुका साथै स्थानीय निर्वाचनमा युवाहरूको चासो, सहभागिता र नेतृत्वदायी भूमिकालाई थप प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा आफ्ना विचार, सुझाव र जिज्ञासा राख्ने सम्पूर्ण युवाहरूप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।


