२ मंसिर २०८३, मंगलवार

यूएईमा विश्व प्रहरी सम्मेलनको उद्घाटन समारोहमा सहभागी भए गृहमन्त्री सुधन गुरुङ

एसीपी संवाददाता

२ मंसिर २०८३, मंगलवार ११:४८ मा प्रकाशित

काठमाडौं।* नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलन (World Police Summit–2026) को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।

नेपालको अबुधाबीस्थित नेपाली राजदूतावासले १६ नोभेम्बर २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार गृहमन्त्री गुरुङ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभएको हो।

उद्घाटन समारोहअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीहरूलाई दुबईका युवराज, यूएईका उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गर्नुभएको थियो।

सम्मेलनकै क्रममा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायेद अल नह्यानसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा विभिन्न सहभागी राष्ट्रका मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी, गृहमन्त्री गुरुङले सम्मेलनमा प्रस्तुत गरिएको प्रदर्शनीको अवलोकन गर्दै प्रहरी तथा कानुन कार्यान्वयनका क्षेत्रमा विकसित नवीनतम प्रविधि, आविष्कार र उपलब्धिबारे जानकारी लिनुभएको थियो।

दुबई प्रहरीद्वारा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलन नोभेम्बर १६ देखि १८ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन भइरहेको छ। यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री एवं दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमको संरक्षणमा आयोजना गरिएको सम्मेलनको यस वर्षको नारा ‘Connected for Impact: Uniting Global Policing to Safeguard Future Generations’ रहेको छ।

सम्मेलनमा ९० देशका २२० जना प्रहरी नेतृत्वकर्ता, विज्ञ तथा विशेषज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनले अन्तर्राष्ट्रिय प्रहरी सहकार्य सुदृढ गर्ने, अनुभव आदानप्रदान गर्ने र विकसित हुँदै गएका सुरक्षा चुनौतीहरूको सामना गर्ने उद्देश्य राखेको छ।

उद्घाटन समारोहमा गृहमन्त्री गुरुङसँगै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारी, गृह मन्त्रालयका सहसचिव तथा वरिष्ठ अधिकारीहरू, नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू र नेपाली राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

*स्रोत: नेपाली राजदूतावास, अबुधाबीको प्रेस विज्ञप्ति (१६ नोभेम्बर २०२६)।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x