दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । कोभिडका कारण बन्द रहेको बस सेवा पुनः सञ्चालनमा आएको हो । दिल्लीको अम्बेडकर स्टेडियम बस टर्मिनलबाट बुधबार बिहान ११ बजे डीटीसीको बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ३८ जना भए पनि बसमा १२ जना यात्रु मात्र थिए ।
नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको हो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ ।
आइतबारबाहेक साताका सबै दिन दुवैतिरबाट बस खुल्ने गरेको मञ्जुश्री यातायातका दिल्ली म्यानेजर राम पौडेलले बताए । भारत सरकारका तर्फबाट बुधबारबाट मात्रै बस सञ्चालनमा ल्याइए पनि मञ्जुश्री यातायातले भने एक महिना अगाडिबाटै बस सञ्चालनमा ल्याइसकेको थियो । मञ्जुश्रीले सातामा तीन दिन चलाइरहेको थियो । अब डीटीसीले बाँकी तीन दिन चलाउने भएको छ । डीटीसीले दिल्लीबाट सोमबार, बुधबार र शुक्रबार तथा काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार बस चलाउनेछ । आइतबारबाहेक र डीटीसीको पालो नरहेको बाँकी दिन मञ्जुश्री यातायातको बसले ओहोरदोहोर गर्नेछ ।



